
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हालको सरकार संविधानविपरीत बनेको आरोप लगाएका छन् । शुक्रबार संविधान तथा राष्ट्रिय दिवसको मुल समारोहलाई सम्बोधन गर्दै उनले जननिर्वाचित सरकारलाई भत्काएर असंवैधानिक सरकार निर्माण गरिएको दाबी गरे । उनले जेन–जीका नामबाट सत्तामा पुगेकाहरुलाई जुन संविधानलाई टेकेर सत्तामा पुग्नुभएको छ त्यही संविधान अनुरुप चल्न आग्रह गरे ।
उनले संविधान कार्यान्वयन गरेको एक दशक पूरा भएको अवस्थामा विषम परिस्थिति बीचमा पनि संविधान दिवस मनाइरहेको दाबी गरे । उनले हालैको जेन–जी आन्दोलनलाई सरकारको कमजोरी ढाकछोप गर्ने साधन नबनाउन चेतावनी दिँदै आन्दोलनका मागप्रति भने प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गरे । आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र घरायसी क्षतिको विस्तृत विवरण संकलन गर्नुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री कँडेलले सुरक्षा निकायप्रति नागरिक भरोसा हराएको र त्यसलाई पुनः जगाउन आवश्यक रहेको जोड दिए । मुख्यमन्त्री कँडेलले भने, ‘सुरक्षा निकायप्रति नागरिकको भरोसा हराउँदै गएको छ, त्यसलाई पुनःस्थापित गर्न गहिरो समीक्षा गर्नुहोस् ।,’ राज्य सञ्चालनमा कमजोरी स्वीकार गर्दै उनले निर्वाचनमार्फत मात्र राजनीतिक परिवर्तन सम्भव हुने स्पष्ट पारे ।
कँडेलले लुटपाटबाट प्राप्त सामग्री श्रमिक मात्र नभई निजामती कर्मचारीका घरमा समेत पुगेको हुनसक्ने आशंका व्यक्त गर्दै जिम्मेवार निकायलाई छानबिन गर्न आग्रह गरे । उनले तीन प्रमुख दलहरूलाई यथास्थितिमा अडिनुको सट्टा समयसापेक्ष रुपमा सुधारात्मक कदम चाल्न सुझाव दिंदै समयमै सचेत भए प्रदेशको राजनीतिक स्थायित्व जोगाउन सकिने दाबी गरे ।