काठमाडौं । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै शनिबार काठमाडौंका विभिन्न स्थानमा हुने भनिएको मोटरसाइकल र्याली तथा सभा सञ्चालनमा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै कुनै पनि र्याली र प्रदर्शन कार्यक्रम गर्न नदिने निर्णय गरेको जनाएको हो ।
‘गत भदौ २३ गतेको जेनजी आन्दोलनपछिका दिनमा भएका तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षति सबैलाई विदितै छ। शान्ति सुरक्षाको स्थिति बनाईराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सुचारु गर्ने कार्यहरू भइरहेको अवस्थामा विभिन्न समूहबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले यस कार्यालयबाट त्यस्ता कार्यक्रम गर्न कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय भएको छ। सूचनामा भनिएको छ,’
राष्ट्रिय युवा संघ नेपाल शनिबार दिउँसो १ बजे काठमाडौं तिनकुनेमा भेला भएर मोटरसाइकल र्याली गर्ने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले अनुमति नदिने निर्णय गरेसँगै युवा संघको सो र्याली प्रभावित हुने देखिएको छ । प्रशासनले पूर्वस्वीकृति बिना कुनै पनि प्रकारका सभा, र्याली, प्रदर्शन वा सामूहिक कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको छ।