काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवाबीच शुक्रबार तय भएको छलफल स्थगन भएको छ। जेनजीका प्रतिनिधिबीच छलफलमा को–को सहभागी हुने भन्ने विषयमा मतभेद उत्पन्न भएपछि राष्ट्रपति पौडेलले वार्ता स्थगित गरेका हुन्।
राष्ट्रपतिसँग भेटवार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास पुगेपछि बाहिर रहेका केही जेनजी युवाहरूले नाराबाजी गरेका थिए। त्यसपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै छलफल सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। नयाँ मिति अनुसार अब सोमबार दिउँसो ३ बजे छलफल हुने बताइएको छ।
गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनको वास्तविक नेतृत्वकर्ता को भन्ने विषयमा हालसम्म पनि विवाद जारी छ। सुदन गुरुङ निरन्तर अग्रभागमा देखिँदै आएका छन् भने अर्को समूहले उनको नेतृत्वलाई अस्वीकार गर्दै आएको छ।