सुर्खेत। लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ मा आयोजित ‘लैङ्गिक–मैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा, सेवाग्राहीको अनुभव’ विषयक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। युरोपियन युनियन र संयुक्त राष्ट्र संघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा, प्रो पब्लिकको अगुवाइ तथा निर्डस नेपाल र सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेतको साझेदारीमा कार्यक्रम संचालित गरिएको हो।
शनिवार वडा कार्यालयको प्राङ्गण राउतकोटमा सम्पन्न कार्यक्रममा ६० भन्दा बढी स्थानीय महिला–पुरुषको सहभागिता थियो। सुनुवाइमा भैरवी गाउँपालिकाकी अध्यक्ष रिता कुमारी शाही, उपाध्यक्ष देवी भण्डारी, कार्यवाहक वडाध्यक्ष सहदेव जैसी, वडा सदस्य विष्णु थापा र जयन्ती नेपाली, स्वास्थ्य चौकी इन्चार्ज मदन थापा तथा प्रहरी हवलदार नृप बहादुर जिसी जवाफदेही वक्ताको रुपमा उपस्थित थिए।
कार्यक्रमको सुरुवातमा वडाले हालसम्म गरेका विकास गतिविधि, सेवा प्रवाह तथा आय–व्ययसम्बन्धी विवरण प्रस्तुत गरिएको थियो। सुनुवाइमा १३ जना भन्दा बढी स्थानीय, विशेषतः महिलाले योजना छनोटमा सहभागिता नहुने, दलित तथा किशोरीका लागि बजेट नछुट्याउने, सार्वजनिक सुनुवाइ नहुने, कर्मचारी कार्यालयमा नबस्ने, योजना छनोटमा विभेद हुने, सार्वजनिक सूचना उचित ढंगले नप्रकाशित हुने लगायतका प्रश्नहरू खुला रूपमा राखेका थिए।
सेवाग्राहीको प्रश्नको जवाफ दिने क्रममा गाउँपालिकाकी अध्यक्ष शाहीले लैङ्गिक र समावेशी नीति आधार बनाएर विकास निर्माण तथा सेवा प्रवाह भइरहेको उल्लेख गर्दै कमजोरी भेटिएको स्थानमा सुधार गर्ने प्रतिवद्धता जनाइन्। उनले भ्रष्टाचार देखेमा जानकारी दिन आग्रह गर्दै नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने बताइन्। उपाध्यक्ष देवी भण्डारीले महिलाले खुलेर प्रश्न गरेकोप्रति धन्यवाद दिँदै आगामी दिनमा कमी–कमजोरी सच्याउँदै लैङ्गिक–मैत्री सेवा प्रवाहमा प्राथमिकता दिने बताइन्।
त्यस्तै कार्यवाहक वडाध्यक्ष सहदेव जैसीले जनताको समस्या समाधानका लागि वडा कार्यालय सधैं तत्पर रहेको बताउँदै आगामी दिनदेखि सार्वजनिक सुनुवाइ नियमित गर्ने, योजना छनोटमा महिलाको सहभागिता अनिवार्य सुनिश्चित गर्ने, आवश्यक बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सार्वजनिक सेवा गुणस्तरीय, पारदर्शी, जवाफदेही र लैङ्गिक–मैत्री बनाउन ८ बुँदे लिखित प्रतिवद्धता सार्वजनिक गरिएको थियो। कार्यक्रमको उद्देश्यबारे प्रो पब्लिकका पोस्ट केसीले प्रकाश पारेका थिए भने सहजीकरण पत्रकार दिपेन्द्र कार्की र खगेन्द्र थापाले गरेका थिए।