समाचार सारांश
- कर्णाली डेण्टलका सञ्चालक ३१ वर्षीय सौगात सिंहको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ।
- दैलेख भैरवी–५का सिंह वीरेन्द्रनगर–३ तातापानी बस्दै आएका थिए।
- आज (आइतवार) बिहान ५:३० बजे प्रदेश अस्पताल सुर्खेतमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
- शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको छ।
सुर्खेत । कर्णाली डेण्टलका सञ्चालक ३१ वर्षीय सौगात सिंहको उपचारको क्रममा मृत्यु भएको छ। कार्तिक २ गते साँझ भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका सिंहको आज विहान ५ः३० बजे प्रदेश अस्पताल सुर्खेतमा उपचारकै क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
दैलेखको भैरवी गाउँपालिका–५ घर भई वीरेन्द्रनगर–३ तातापानी बस्दै आएका सिंहले चलाएको कर्णाली प्रदेश ०२००१ प ४४४२ नम्बरको मोटरसाइकल मंगलगढी–लाटीकोईली सडक खण्डमा साँझ ८ः३० बजे दुर्घटना भएको थियो। वीरेन्द्रनगर–९ स्थित सैनिक आवासीय विद्यालयको गेट नम्बर २ नजिक मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रोहित कुमार शाहीले जानकारी दिए।
दुर्घटनापछि गम्भीर घाइते सिंहलाई प्रदेश अस्पतालबाट थप उपचारका लागि भारतको लखनउ लगिएको थियो। टाउकोमा गम्भीर चोटका कारण लखनउबाट पुनः नेपालगञ्ज न्युरो अस्पताल हुँदै सुर्खेत ल्याइएको र अन्ततः उपचारकै क्रममा मृत्यु भएको आफन्तले पुष्टि गरेका छन्। उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ।