सुर्खेत । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशभर मंगलबारदेखि सुरु भएको छ। सोहीअनुरूप रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पनि विशेष कार्यक्रमसहित अभियानको शुभारम्भ गरिएको छ। गाउँपालिका अध्यक्ष विर्ख बहादुर बिष्टले अभियानको उद्घाटन गर्दै महिलामाथि हुने हिंसा पूर्ण रूपमा रोक्न सबै तह–तहबाट सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।
उनले महिलामाथिको हिंसा न्यूनिकरणका लागि महिला सशक्तिकरण कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए। अध्यक्ष बिष्टले महिला हिंसामा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने चेतावनी दिँदै अपराधीविरुद्ध कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता जनाए। गाउँपालिकाले अभियानका लागि करिब २ लाख रुपैयाँ विनियोजन गरेको बताइएको छ।
सो बजेटबाट प्रत्येक वडाका विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ। अभियानमा विभिन्न विद्यालयका विद्यार्थी, विद्यालयस्तरीय संस्थाहरु, महिला स्वास्थ्यकर्मी, नेपाल प्रहरी तथा स्थानीय सामाजिक अभियन्ताहरूले सहजीकरण गर्ने तयारी भएको छ। साथै बालविवाह रोकथाम, महिला अधिकार र लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी जनचेतनामूलक सन्देश तथा नाटक प्रस्तुत गरी समुदायमा सचेतना फैलाउने कार्यक्रम रहेको छ।