२०८२ मंसिर १९ , शुक्रबार

भेरीगंगा नगरपालिकाले मनायो ११औँ स्थापना दिवस (फोटो फिचर)




सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिकाले मंगलबार आफ्नो ११औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ । भेरीगंगा–१२ छिन्चुमा आयोजित विशेष कार्यक्रम पूर्व सामाजिक विकास मन्त्री खड्क बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै पालिकावासीको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको नगरपालिकाले जनाएको छ । स्थापना दिवसको बिहान प्रभात फेरी गरी छिन्चु बजार परिक्रमा गरिएको थियो । यसैगरी नगरपालिकाले पूर्व नगर प्रमुख भुपेन्द्र चन्द, उपप्रमुख रेणु आर्चाय (ढकाल), पूर्व गाविस अध्यक्ष खड्क बहादुर खत्री, पूर्व प्रधानपञ्च टोपबहादुर खत्री लगायत जनप्रतिनिधि तथा पालिकाका पूर्व कर्मचारीलाई खादा, माला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख ढकालले शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार, पशु नस्ल सुधार, प्रशासकीय भवन निर्माण, श्रम तथा रोजगारमूलक कार्यक्रमलगायत क्षेत्रका उपलब्धि र चुनौतीबारे धारणा राख्दै भेरीगंगाको समग्र इतिहास र विकास यात्रा प्रस्तुति गरेका थिए । उनले प्राथमिकताका आधारमा योजनाबद्ध रुपमा विकासका काम निरन्तर अघि बढाइने बताए । पूर्व मन्त्री खत्रीले स्थानीय विकासका लागि विधि, प्रक्रिया र सुशासनको पालना अत्यावश्यक हुने उल्लेख गर्दै जनप्रतिनिधिहरूले राम्रो काम गरिरहेकाले अझ परिणाममुखी कार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा बोल्दै नगरप्रमुख ढकालले नगर क्षेत्रको विकासको लागि नगरपालिकाले आगामी दिनमा थप सशक्त रुपले योजना बनाएर अघि बढ्ने बताइन् । उनले स्थानीय सरकार नजिकको सरकार भए तापनि हातेमालो गरेर अघि बढे मात्र विकास लगायतका कार्य सम्भव हुने बताइन् । कार्यक्रममा पालिकाका सम्पुर्ण वडाका जनप्रतिनिधि कर्मचारी, राजनीतिक दल, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीयको लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार