
काठमाडौं । सरकारी सेवामा कार्यरत कर्मचारीहरू नेकपा (एमाले) महाधिवेशन प्रतिनिधि बनेका छन् । यहीँ मंसिरमा हुने एमाले ११औं महाधिवेशनमा चार जना वहालवाला सरकारी कर्मचारी प्रतिनिधि बनेका हुन् । महाधिवेशनका लागि स्वास्थ्य क्षेत्रबाट छनोट भएका सात जना प्रतिनिधिमध्ये चार जना हाल बहालवाला सरकारी कर्मचारी हुन् ।
डा. सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टर १०औं तहका वरिष्ठ चिकित्सक तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष हुन् । उनी एमाले महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । त्यस्तै अर्का अमृता बराल बागमती प्रदेश अन्तर्गत स्वास्थ्य तालिम केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी हुन् । उनी महासंघको उपाध्यक्ष पदमा छिन् ।
बराल एमाले नेता तथा पूर्वसांसद महेश बर्तौलाकी श्रीमती हुन् । त्यसैगरी भीमराज सिंह सभामुख देवराज घिमिरेको निजी सचिवालयमा कार्यरत छन् । सिंह पनि महाधिवेशन प्रतिनिधिमा छन् । उनी महासंघका महासचिव हुन् ।