
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा बोल्दै उनले आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन्। महामन्त्री शर्माले पुस ९ गते झापा पुगेका बेला नै आफ्नो निर्वाचन क्षेत्रका नेता–कार्यकर्तालाई उम्मेदवार बन्न इच्छुकहरू अगाडि आउन आग्रह गरेको बताए। ‘को उम्मेदवार बन्ने हो, दाबी गरेर आउनुस् भनेर क्षेत्रीय भेलामै भनेको हुँ,’ उनले बैठकमा भने।
गत वर्ष पुस २१ गते झापाको मेचीनगर–धुलाबारीस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा पनि आफू ०८४ को चुनावमा उम्मेदवार नबन्ने घोषणा गरिसकेको उनको भनाइ छ। “आगामी चुनावमा उम्मेदवार बन्न चाहने साथीहरू अहिल्यैदेखि गाउँ–गाउँमा मेहनत गर्नुस्, म उम्मेदवार बन्न इच्छुक छैन भनेर मैले स्पष्ट भनेको थिएँ,” उनले स्मरण गरे।
फेरि पनि झापा–१ बाट सर्वसम्मत सिफारिस गरिएकोप्रति धन्यवाद दिँदै शर्माले राजनीतिमा देखिएको ‘क्षेत्र कब्जा’ गर्ने प्रवृत्ति तोड्न जरुरी रहेको बताए। “जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एक ठाउँमा हारे अर्को ठाउँमा उम्मेदवार बन्नैपर्ने सोच हाम्रो राजनीतिमा गहिरिएको छ, यो प्रवृत्ति भत्काउनुपर्छ,” उनले भने। तीन पटक प्रतिनिधि सभा उम्मेदवार भइसकेकाले यसपटक आफू उम्मेदवार नबन्ने निर्णय लिएको उनले स्पष्ट पारे।
“गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको पक्षमा पुग्नेछु,” उनले भने। महामन्त्री शर्माले आगामी निर्वाचनमा अनुहार परिवर्तन गरेर जानुपर्नेमा जोड दिँदै बढीभन्दा बढी युवा र नयाँ अनुहारलाई अवसर दिन आग्रह गरे। यद्यपि समानुपातिकतर्फ उम्मेदवार बन्ने–नबन्नेबारे भने उनले केही खुलाएका छैनन्। शर्मा २०७० को संविधानसभा निर्वाचनमा एमालेका रवीन कोइरालासँग पराजित भएका थिए भने २०७४ मा वाम गठबन्धनका राम कार्कीसँग पराजय व्यहोरेका थिए।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा भने उनले एमालेका अग्नि खरेललाई पराजित गरेका थिए। बैठकमा बोल्दै महामन्त्री शर्माले पार्टी नेतृत्व परिवर्तन नगरी चुनावमा जान नहुने धारणा पनि राखे। “अनुहार बदलेर चुनावमा जानुपर्छ, युवा र नयाँ साथीहरूलाई अघि सार्नुपर्छ,’ उनले भने । महाधिवेशनबारे बोल्दै उनले कार्यतालिका परिमार्जन गरी वडा, क्षेत्र र केन्द्र गरी तीन तहको अधिवेशन गर्नुपर्ने बताए। वडा र क्षेत्र अधिवेशन सकेर पुस २६ मै महाधिवेशन गर्नुपर्ने उनको प्रस्ताव छ।