
तस्बिर AI को सहयोगमा बनाइएको हो।
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–१ तारेचौर बजारस्थित भित्री सार्वजनिक सडकमा एक व्यक्तिमाथि कुटपिट गरिएको घटनामा संलग्न चार जना पक्राउ परेका छन्।गत आइतवार बिहान करिब ८ः३० बजेको समयमा कुशे गाउँपालिका–१ स्याक्रीका निमबहादुर थापालाई केही व्यक्तिहरूले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भई भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले अनुसन्धान थालेको थियो।
घटनासम्बन्धमा संलग्न चारजनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काले खबरदृष्टिलाई जानकारी दिए। उनकाअनुसार पक्राउ पर्नेमा कुशे गाउँपालिका–१ बस्ने अन्दाजी ३२ वर्षका शेरबहादुर चलाउने, वडा नम्बर ३ बस्ने ३६ वर्षका कर्णबहादुर बस्नेत, वडा नम्बर ४ बस्ने ३७ वर्षका जनक जैसी र वडा नम्बर ६ बस्ने २१ वर्षका दिपेन्द्र सिंह रहेका छन्।
उनीहरूलाई हिजो (सोमवार) जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट ७ दिनको म्याद थप लिई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।केही दिनअघि खाद्यान्न तथा जिन्सी सामग्री चोरी गरेको आरोप लगाउँदै स्थानीयहरूले निमबहादुर थापालाई जुत्ताको माला लगाइदिने र कालोमोसो दल्ने गरेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो।