सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् भने दुर्घटनामा संलग्न चालक पाँच दिन बितिसक्दा पनि फरार रहेका छन्। गत शुक्रबार भेरीगंगा–१२ निवासी ११ वर्षीय प्रेमबहादुर खड्कालाई मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।दुर्घटनापछि मोटरसाइकल चालक सवारीसाधनसहित फरार भएको पीडित पक्षले जनाएको छ।
दुर्घटनापछि प्रहरी प्रशासनले घटनाप्रति आवश्यक तदारुकता नदेखाई उल्टै घटनालाई ‘वेवारिसे’ बनाउने प्रयास गरेको पीडित पक्षको आरोप छ। प्रहरीको ढिलासुस्ती र असहयोगका कारण पीडित परिवार आफैं दोषीको खोजीमा लाग्न बाध्य भएको उनीहरूको भनाइ छ। प्रहरीको भर नपरी पीडित परिवारले सुरुमा भेरी तथा नेपालगञ्ज यातायात कार्यालयमा पुगेर अनुसन्धान थालेका थिए।
सो क्रममा दुर्घटना गराउने मोटरसाइकलको नम्बर भे ७ प ४८७ रहेको खुलेको पीडित पक्षको दाबी छ।उनीहरूका अनुसार अनुसन्धानका क्रममा उक्त मोटरसाइकलको कर २०७९ सालमा सुर्खेत यातायात कार्यालयमा तिरिएको रेकर्ड भेटिएको, २०८१ भदौ ५ गते ट्राफिक कारबाहीमा परी जरिवाना तिरेको रसिद फेला परेको तथा ऐरीचोक नजिक रहेको बजाज सोरुमबाट २०७४ असोज ११ गते सेकेन्ड ह्यान्डका रूपमा बिक्री भएको तथ्य खुलेको छ।
यस्तै पीडित पक्षका अनुसार उक्त मोटरसाइकलका धनी कालिकोटको रास्कोट नगरपालिका निवासी दलबहादुर शाही रहेको पुष्टि भएको छ। प्रमाणसहित सम्पर्क गरेपछि शाहीले “गाडी मेरै हो” भनी स्वीकार गर्दै छिट्टै सम्पर्कमा आउने प्रतिबद्धता जनाएको पीडित पक्षले जनाएको छ। प्रहरीले गर्नुपर्ने काम पीडित आफैंले धाएर प्रमाण जुटाएपछि मात्रै ती विवरण प्रशासनमा बुझाइएको पीडित पक्षको गुनासो छ।