सुर्खेत । जाजरकोटमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–८ का इन्द्र बहादुर सिंह, मीम बहादुर सिंह, राजीव शाही, जनक कार्की र लाल बहादुर सिंह रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३ थान भरुवा बन्दुक, २ थान फलामका चक्कु, १३५.१८ ग्राम बारुदजस्तो देखिने पदार्थ, भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा र केव बरामद गरेको छ। प्रहरीका अनुसार पुस १३ गते ३६ वर्षीय प्रचण्ड देव सिंहसहित छ जना व्यक्ति जंगलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुकको गोली लागेर प्रचण्ड देव सिंह घाइते भएका थिए। उनको शङ्कास्पद अवस्थामा मृत्यु भएको जानकारी पुस १४ गते प्रहरीलाई प्राप्त भएको थियो।
अनुसन्धानका क्रममा घटनास्थल नजिकै खाल्डो खनी लुकाइएका अवैध हातहतियार फेला परेपछि संलग्न व्यक्तिहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।