सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोइला बालेर सुतेका एकै परिवारका तीनजना बेहोस भएका छन् भने एउटा शिशुको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर–१२ स्थित मानबहादुर चन्दको घरमा कोठा भाडामा बस्दै आएकी अन्दाजी ३० वर्षीया तारा बुढा, उनकी भदैनी अन्दाजी १३ वर्षीया संगम बुढा, १० वर्षका छोरा प्रकाश बुढा र ३८ दिनकी छोरी प्रतिक्षा बुढा कोठाभित्र कोइला बालेर सुतेका थिए।
कोइला बालेर सुतेका एकै घरका परिवार बिहीबार बिहान करिब ९:४५ बजेसम्म नउठेपछि घरधनीले बोलाउँदा प्रकाश बुढाले ढोका खोलेका थिए। त्यसक्रममा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने प्रकाश बुढा सामान्य अवस्थामा रहेका थिए।
३८ दिनकी शिशु प्रतिक्षा बुढाको भने कोठामै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए। उनका अनसार बेहोस अवस्थामा रहेका तीनजनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ।