२०८२ माघ ७ , बुधबार

जाजरकोटमा श्रीमतीको हत्या गरी फरार भएका सुनार तीन वर्षपछि पक्राउ



सुर्खेत । जाजरकोटमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा छेडागाड नगरपालिका–१३ पिपलतडाका भद्र बहादुर सुनार रहेका छन्। सुनारले २०७९ मंसिर १० गते ३४ वर्षीया श्रीमती पानसरा सुनारलाई बन्चरो र खुकुरी प्रहार गरी हत्या गरी फरार भएका थिए।

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त सुनारको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटले प्राविधिक साधन प्रयोग गर्दै सादा पोषाकमा प्रहरी टोली परिचालन गरेको थियो।अभियुक्त सुनार हालै आफ्नो गाउँघरमा आएर लुकिछिपी बसेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोलीले खोजतलास तीव्र पारेको थियो।

खोजतलासका क्रममा आइतबार छेडागाड नगरपालिका–१३ स्थित पिपलतडादेखि कार्कीगाउँ जाने सडक खण्डबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिए।

पक्राउ परेका सुनारलाई आइतवार सम्मानित जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार