२०८२ माघ ७ , बुधबार

जाजरकोटमा बोलेरो जिप दुर्घटना : दुईको मृत्यु, चार घाइते



सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोला स्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परी छेडागाड नगरपालिका–९ पजारुकी करिब ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले पुष्टि गरेको छ। दुर्घटनामा जिप चालक छेडागाड नगरपालिका–९ का २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड नगरपालिका–८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड नगरपालिका–९ का करिब ३९ वर्षीय विरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको छ र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार