
कुलेन्द्र शाही, सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रिया महिनौँदेखि अल्झिँदा दल नेतृत्वविहीन बनेको छ। कर्णालीका पूर्व मुख्यमन्त्री तथा तत्कालीन संसदीय दलका नेता राजकुमार शर्माले राजीनामा दिएपछि नयाँ नेता चयन हुन नसक्दा पार्टीभित्र आन्तरिक रस्साकस्सी बढेको हो। केन्द्रमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेसँगै कर्णालीमा पनि संगठनात्मक पुनर्संरचना सुरु भएको थियो।
यही क्रममा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी ( प्रलोपा) मा खुलेका शर्माले गत मंसिर १७ गते तत्कालीन माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै लिखित रूपमा संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। तर राजीनामा दिएको महिनौँ बितिसक्दा पनि नयाँ दल नेता चयन हुन सकेको छैन। नेकपाले कर्णालीमा संसदीय दलको नेता चयन गर्न दुई–तीन पटक बैठक बसे पनि सहमति जुट्न नसकेको बैठकमा सहभागी एक सांसदले खबरदृष्टिलाई बताए ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कर्णालीमा पार्टी एकता सन्देश सभाका लागि आउँदा यो विषय टुंगिने अपेक्षा गरिएको थियो। यद्यपि संयोजक दाहालले संसदीय दलको नेता चयनको जिम्मा कर्णालीलाई नै दिएपछि समस्या झन् जटिल बनेको नेताहरूको भनाइ छ। हाल संसदीय दलको नेताका लागि आधा दर्जनभन्दा बढी सांसदले दाबी गरिरहेको नेकपाका एक सांसदले जानकारी दिए। ती सांसदका अनुसार माथिल्लो कर्णाली क्षेत्रबाट सात सांसद रहेकाले बहुमतको आधारमा साविक कर्णाली क्षेत्रले संसदीय दलको नेतृत्व पाउनुपर्ने दाबी बलियो रूपमा उठाइएको छ।
यता तत्कालीन माओवादी केन्द्रकी सांसद उर्मिला विश्वकर्माले आफू पनि संसदीय दलको नेताका लागि बलियो उम्मेदवार रहेको दाबी गरेकी छन्। साविक कर्णालीकी सांसद, महिला तथा दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले नेतृत्वमा आफ्नो दाबी स्वाभाविक रहेको उनको भनाइ छ। ‘माथिल्लो कर्णालीका सांसदहरूको बहुमत छ, म महिला र दलित सांसद भएकाले पनि संसदीय दलको नेतामा मेरो दाबी स्वाभाविक हो,’ उनले भनिन्, ‘अब पार्टीले गर्ने निर्णय पर्खिरहेको छु।,’
हाल कर्णाली प्रदेश सभामा एकीकृत समाजवादीको १ सांसद र तत्कालीन माओवादीका १२ गरी १३ सांसद छन्। तीमध्ये उपसभामुखसहित साविक कर्णाली क्षेत्रबाट मात्र सात सांसद छन्। बहुमत, भूगोल र समावेशीताको आधारमा पनि माथिल्लो कर्णालीले संसदीय दलको नेता पाउनुपर्ने उनीहरूको दाबी छ।
साविक कर्णाली क्षेत्रबाट उपसभामुख यशोदा न्यौपाने (कालिकोट), रणसिंह परियार (हुम्ला), दुर्गाबहादुर रावत (कालिकोट), मंगल शाही (मुगु), जुक्तिक लामा कार्की (हुम्ला), वीरबहादुर शाही र उर्मिला विश्वकर्मा (डोल्पा) रहेका छन्।
यदि साविक कर्णाली अञ्चलले आफ्नो अडानबाट पछि नहटेमा मंगल शाही, वीरबहादुर शाही र उर्मिला विश्वकर्मामध्ये एकले संसदीय दलको नेतृत्व पाउने सम्भावना देखिएको छ। यसैबीच नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले दलको नेता चयनका लागि हालसम्म कुनै औपचारिक बैठक नबसेको जानकारी दिए। उनले अब बस्ने पार्टीको बैठकबाट सबैको सहमतिमा दलको नेता चयन हुने जानकारी दिए।