सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा गत २३ गते एक किशोरी मृत फेला परिन्। चौकुने गाउँपालिका–८ मिलनचोक बस्ने १८ वर्षीया सपना विश्वकर्मा आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतकका श्रीमान् १९ वर्षीय भुवन सुनार छिमेकीको जन्मदिन मनाउन गाउँ गएका बेला घटना भएको हो।
श्रीमान् घर फर्किएपछि काठको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि पासो काटी भुइँमा राखिएको र त्यसपछि मृत्यु भएको जानकारी प्रहरीलाई गराइएको थियो। तर, मृतकका आफन्तले भने यो आत्महत्या नभई हत्या भएको आरोप लगाएका छन्। मृतककी आमा सुनिता विकले छोरीले मृत्यु हुनुअघि फोन गरेर श्रीमान् मदिरा सेवन गरी ज्यान मार्ने धम्की दिएको र पटक–पटक कुटपिट गरेको बताएको दाबी गरेकी छन्।
उनका अनुसार छोरीको मृत्यु आत्महत्या नभई ज्वाइँले हत्या गरेको हो। आफन्तले यसअघि पनि भुवन सुनारले विवाह गरेको पहिलो श्रीमती (सपनाकी दिदी) को पनि झुण्डिएको अवस्थामा मृत्यु भएको र अहिले फेरि कान्छी श्रीमतीको पनि रहस्यमय मृत्यु भएको भन्दै गहिरो आशंका गरेका छन्। भुवनले पहिले सपनाकी दिदीसँग विवाह गरेका थिए।
दिदीको मृत्यु भएपछि उनले सपनालाई गत फागुनमा भगाएर विवाह गरेको पारिवारिक स्रोतले जनाएको छ। मृतक सपना विश्वकर्माको माइतीघर सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ मा रहेको छ। यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीर कुमार शाहीले घटनाबारे गहिरो अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले घटनास्थलको मुचुल्का, शव परीक्षण रिपोर्ट र सम्बन्धित पक्षको बयानका आधारमा सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाइएको बताए।