२०८२ माघ ३ , शनिबार

मुगुमा पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रिया



सुर्खेत । कर्णाली प्रदेशको मुगुको गमगढीमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता सम्बन्धी स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया आयोजना गरेको छ । प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीको प्रमुख आतिथ्यमा पत्रकारहरूसँग अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा सदस्य जोशीले सामाजिक सञ्जालको दुरुपयोग गरेर गलत समाचार सम्प्रेषण गर्ने मध्ये पत्रकारहरू पनि रहेको बताउँदै हरेक पत्रकारले आचारसंहिताको पालना गर्नु पर्नेमा जोड दिए । पछिल्ला दिनमा पत्रकार र पत्रकारिता पेसामाथि नै आमजनताको विश्वास घट्दै गएको बताउँदै काउन्सिलका सदस्य जोशीले पेसागत मर्यादा जोगाउन र नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारको रक्षाका लागि स्वयं पत्रकार मर्यादित र जिम्मेवार हुनु पर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष अच्युत भण्डारीले मुगुमा पत्रकारिताको अवस्थाका विषयमा जानकारी गराउँदै कर्णाली प्रदेशमा पत्रकारिताको विकासमा राज्यले लगानी गर्नु पर्ने बताए । भण्डारीले मुगुका पत्रकारहरूले पत्रकार आचारसंहिता पालनामा ध्यान दिएकोमा जोड दिए । पत्रकार महासङ्घ मुगुका सचिव नन्द रोकायाले पत्रकारहरूको क्षमता अभिवृद्धिमा प्रेस काउन्सिलले पनि भूमिका खेल्नु पर्ने बताए ।

मुगुमा दुई वटा एफएम र केही अनलाइन मात्र जेनतेन सञ्चालनमा रहेको जानकारी दिँदै पत्रकार र पत्रकारिता बचाउन राज्यले सोच्नु पर्ने रोकायले बताए । कार्यक्रममा अग्रज पत्रकार कविराज कार्कीले आचारसंहिता पालना गराउनुका प्रेस काउन्सिलको भूमिका महत्त्वपूर्ण रहेको पत्रकारहरूले पनि आफ्नो पेसागत मर्यादा बिर्सन नहुने बताए । कार्यक्रममा काउन्सिलका सदस्य जोशीले पत्रकार महासङ्घ मुगुका अध्यक्ष भण्डारीलाई पत्रकार आचारसंहिताको फ्लेक्स र पुस्तिका हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार