२०८२ माघ ३ , शनिबार

जिफन्ट कर्णालीले निर्वाचनमा एमालेलाई जिताउन भूमिका खेल्ने



सुर्खेत । जिफन्ट कर्णाली प्रदेशले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मूल पार्टी नेकपा (एमाले) लाई जिताउन सक्रिय भूमिका खेल्ने भएको छ । एमाले निकट श्रमिकहरूको साझा सङ्गठन जिफन्ट कर्णाली प्रदेशकी कार्यवाहक अध्यक्ष राधा श्रेष्ठले सङ्गठन पार्टीको चुनावी रणनीतिअनुसार अघि बढ्दै एमाले उम्मेदवारको पक्षमा एकताबद्ध रूपमा काम गर्ने बताइन् ।

शुक्रवार बसेको बैठकले श्रमिक तथा ट्रेड युनियन आन्दोलनसँग जोडिएका मुद्दालाई निर्वाचनमार्फत सशक्त रूपमा उठाइने उल्लेख गरिन् । श्रेष्ठका अनुसार कर्णाली प्रदेशका सबै जिल्ला तथा पालिका तहमा सङ्गठनलाई परिचालन गरी घरदैलो अभियान, मतदाता अभिमुखीकरण तथा पार्टीका नीतिगत कार्यक्रमलाई जनतासमक्ष पुर्‍याइनेछ । ‘एमालेको नेतृत्वमा मात्रै श्रमिक हित सुरक्षित हुने भएकाले पार्टीलाई विजयी गराउनु हाम्रो प्रमुख दायित्व हो,’ उनले भनिन् ।

जिफन्ट कर्णाली प्रदेशले निर्वाचनलाई सङ्गठन सुदृढीकरणको अवसरका रूपमा लिँदै केन्द्र र प्रदेश नेतृत्वसँग समन्वय गरेर अभियान सञ्चालन गर्ने जनाएको छ । सङ्गठनले कर्णालीमा एमालेको जनाधार थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरेको छ । यस्तै, बैठकमा बोल्दै नेकपा एमाले सुर्खेतका सहसचिवसमेत रहेकी जनसङ्गठन प्रमुख सुशीला विश्वकर्माले श्रमिकको हक र हितमा काम गर्ने पार्टी एमाले रहेको दाबी गरिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला श्रमिकको जीवन सुरक्षाका लागि सामाजिक सुरक्षा कोषको स्थापना भएको उल्लेख गर्दै उनले यसलाई कर्णालीमा पनि व्यापक बनाउन जिफन्टले नेतृत्व लिनु पर्ने बताइन । कर्णाली प्रदेशमा सामाजिक सुरक्षाको दायरा बढाउन र यसको कार्यालय कर्णालीमा यथासिंघ्र स्थापना गराउन सङ्गठनले पहलकदमी लिनुपर्ने बताइन ।

उनले सबै तहका श्रमिकको हकहितका क्षेत्रमा काम गर्दै पार्टीको नीति अनुसार काम गर्नुपर्ने बताइन । बैठकमा यातायात क्षेत्रका मजदुरलाई पनि सङ्गठनमा आबद्ध गराउने, सदस्यता नवीकरण गर्ने विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार