२०८२ माघ ३ , शनिबार

वीरेन्द्रनगरका विद्यालयमा अत्यावश्यक सामग्री वितरण



सुर्खेत । २८औँ भूकम्प सुरक्षा दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर–२) परियोजनाअन्तर्गत वीरेन्द्रनगरका विद्यालयहरूमा अत्यावश्यक सामग्री वितरण गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनवमन तथा ह्याण्डिक्याप इन्टरनेशनलको प्राविधिक सहयोग र सुन्दर नेपाल संस्था सुर्खेत तथा सोसेक नेपालको स्थानीय सहजीकरणमा सहयोग गरिएको हो ।

विद्यालयहरूलाई प्राकृतिक विपद्, आगलागी तथा स्वास्थ्य संकटजस्ता आपतकालीन अवस्थाबाट सुरक्षित रहन पूर्वतयारी र क्षमता अभिवृद्धि कार्यक्रम समेत सञ्चालन भइरहेको छ । परियोजनाअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाभित्रका ३० वटा विद्यालयका शिक्षकहरूलाई लक्षित गरी बृहत विद्यालय सुरक्षा कार्यान्वयनका लागि स्रोत व्यक्ति सुरक्षा सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । तालिमपछि अति आवश्यकताको आधारमा छनोट गरिएका १० वटा विद्यालयलाई आपतकालीन तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्न आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका सामग्रीमा स्ट्रेचर, प्राथमिक उपचार (फस्र्ट एड) किट, फायर एक्स्टिङ्गुइशर, फलामे बाल्टिन, नायलन डोरी, बेल्चा, गैंतीलगायतका आपतकालीन सामग्री समावेश छन् । यी सामग्रीहरूले विद्यालयहरूको आपतकालीन तयारी र प्रतिक्रिया क्षमतालाई थप मजबुत बनाउने विश्वास लिइएको युएनडिपीका कृष्ण चापागाईंले बताए । पहिलो चरणमा पुस ३० गते श्री शिव माध्यमिक विद्यालय, धुलियाबिट तथा श्री हस्तबिर आधारभूत विद्यालय, चनौटमा सामग्री हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी माघ २ गते सिद्धबहिरा बालकको माध्यमिक विद्यालय, खजुरा र नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय, गाग्रेतालमा सामग्री हस्तान्तरण गरिएको छ । सो अवसरमा आगो निभाउने यन्त्र प्रयोग गरी आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्याससमेत गराइएको थियो । बाँकी रहेका ६ वटा विद्यालयहरूमा विद्यालय खुलेपछि माघ ६ गतेदेखि चरणबद्ध रूपमा सामग्री हस्तान्तरण गरिने जनाइएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाको तर्फबाट शिक्षा प्रमुख उपसचिव धिरेन्द्रप्रसाद शर्मा तथा विपद् शाखाका यमलाल गिरी, सुपर–२ परियोजनाको तर्फबाट युएनडिपीका चापागाईं, युएनवमनकी उषा बानियाँ, सुन्दर नेपाल संस्थाका टिम लिडर खिमबहादुर रेग्मी र सोसेक नेपालका उपाध्यक्ष कविराज रिजालको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार