२०८२ माघ २५ , आइतबार

सुर्खेतमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने ‘खतरनाक खोपडी’ समूहका २५ जना पक्राउ



सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय प्रशासनको अनुमति बिना मोटरसाइकल र्‍याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याएको आरोपमा ‘खतरनाक खोपडी’ (THE DANGEROUS SKULL) नामक युवा समूहका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिकै तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गर्दा वडा नम्बर ३ तातापानीका उक्त समूहका युवाहरूले कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा र्‍याली निकाल्दै हो–हल्ला गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि गर्नुका साथै आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्य गरेको पाइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको करिब ३० जनाको प्रहरी टोलीले ८ वटा मोटरसाइकल र ४ वटा स्कुटरसहित २५ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार