
जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–११ मटेलामा रहेको झोलुङ्गे पुल लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। उनीहरूले त्यहीँ जीर्ण पुलबाट आवतजावत गरिरहेका छन्।
आइतवार भने नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडक बहादुर बुढा चुनावी घरदैलो अभियानका क्रममा पुग्दा स्थानीयवासीले पुलका फ्ल्याक खसेको र आवतजावतमा गम्भीर समस्या भएको गुनासो गरे। उनीहरूले नेकपाका उम्मेदवार शक्ति बहादुर बस्नेतले पुल मर्मत गर्ने आश्वासन मात्रै दिएको बताए।
स्थानीयको समस्या सुनेपछि उम्मेदवार बुढाले पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख भुपेन्द्र जैसीलाई फोनमार्फत तत्काल (आजै) पुल मर्मत गर्न आग्रह गरेका छन्। उनले लामो समयसम्म पनि पुल मर्मत नुहुनु दुःखद भएको बताउँदै आजै पुल मर्मत गर्न आग्रह गरे। फोनमार्फत कार्यालय प्रमुख जैसीले पनि आजै मर्मत कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।