२०८२ माघ २५ , आइतबार

पैसा बाँडेर चुनाव जित्नेहरू अपराधी हुन् : छवि पन्त




जाजरकोट ।
नेपाली कांग्रेस जाजरकोटका प्रवक्ता तथा सह–सचिव छवि पन्तले देशमा आगजनी गरेर ध्वस्त र कंगाल बनाउनेहरू नै नेतृत्वमा जान खोजिरहेको आरोप लगाएका छन्।शनिबार जाजरकोटको भेरी नगरपालिकाका विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनका सन्दर्भमा कांग्रेसले देश सम्हाल्दै आएको र देश अहिले संवेदनशील अवस्थामा रहेको बताए।

उनले अरू दलहरूले गरेको गल्तीभन्दा कांग्रेसका गल्ती कम रहेको जिकिर गर्दै देश निर्माणमा कांग्रेस अग्रसर रहेको उल्लेख गरे। पन्तले कांग्रेस सजिलै चुनाव जित्न सक्ने पार्टी भएको र देशलाई शान्तिको बाटोमा अघि बढाउन कांग्रेसले नै नेतृत्व गर्ने दाबी गरे। जाजरकोटका विभिन्न स्थानमा मतदातालाई पैसा बाँडिएको खबर आफूले पाएको भन्दै उनले पैसा बाँडेर चुनाव जित्नेहरू अपराधी भएको बताए।

‘बारम्बार चुनाव जितेर सरकारमा जाँदा पनि काम नगर्नु अपराध हो,’ उनले भने, ‘जाजरकोटका विभिन्न ठाउँमा पैसा बाँडिएको खबर पाएको छु। पैसा बाँडेर चुनाव जित्नेहरू अपराधी हुन्।,’ उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारे टिप्पणी गर्दै त्यसलाई नाम मात्रैको नयाँ पार्टी भएको आरोप लगाए।

कांग्रेसले अब विगतका कमजोरी सच्याउँदै देशलाई स्थायित्व, शान्ति र विकासको दिशामा अघि बढाउने प्रतिबद्धता लिएको पन्तको भनाइ थियो।

तस्बिरहरू :

प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार