२०८२ माघ २५ , आइतबार

संसदमा जाजरकोटका मतदाताको गुनासो सुनिएनन्, अब कांग्रेसले सुनाउँछ : उम्मेदवार खडक बुढा



जाजरकोट । नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढाले जाजरकोटका जनताको आवाज लामो समयसम्म संसदमा नसुनिएको भन्दै अब त्यो आवाज कांग्रेसले बुलन्द बनाउने दाबी गरेका छन्। शनिबार जाजरकोटको भेरी नगरपालिकाका विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उम्मेदवार बुढाले जाजरकोटबाट निरन्तर निर्वाचन जित्दै आएका तत्कालीन माओवादीका उपमहासचिव शक्ति बस्नेततर्फ संकेत गर्दै जनताको अपेक्षा अनुसार विकास र सेवा प्रवाह हुन नसकेको आरोप लगाए। ‘हामी गरिब हुन सक्छौं, तर इमान बेच्दैनौं,’ बुढाले भने, ‘राज्यसत्तामा पुगेर पनि खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा ध्यान नदिनु जनताप्रतिको धोका हो।,’

उनले पछिल्लो समय जाजरकोटमा भोट किन्न खोज्ने चर्चा चलिरहेको उल्लेख गर्दै मतदातालाई त्यस्ता प्रयासमा नबिक्न आग्रह गरे। ‘भोट बेचेर क्षणिक फाइदा लिनु भविष्य बेच्नु हो,’ उनले भने, ‘विकासलाई पछाडि पार्ने यस्ता प्रयासलाई अस्वीकार गर्नुपर्छ।,’ आफू जाजरकोटमै बसेर दुःखी, गरिब र विपन्न समुदायसँगै रहेर सामाजिक काम गर्दै आएको उल्लेख गर्दै बुढाले सीमित व्यक्तिको मात्रै आवाज सुन्ने प्रवृत्तिले जिल्लाको समग्र विकास अवरुद्ध भएको बताए।

‘घर-घरमा खानेपानी पुर्‍याउनु र गुणस्तरीय विद्यालय बनाउनु सामान्य कुरा हो, उनले भने,’तर सत्ता र स्वार्थमा लिप्त नेताहरूले ती काम गर्न सकेनन्,’ आफुले कांग्रेसबाट उम्मेदवारी दिए पनि आफ्नो एजेन्डा सबैको साझा रहेको बताउँदै उनले दलगत सीमाभन्दा माथि उठेर जाजरकोटको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तै, कार्यक्रममा नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार हजारी नेपाली (वादी) ले आफू निर्वाचित भए दलित, महिला तथा अल्पसंख्यक समुदायका अधिकार र मुद्दा संसदमा सशक्त रूपमा उठाउने बताइन्। दलित महिलालाई समानुपातिक उम्मेदवार बनाएर कांग्रेसले ऐतिहासिक न्याय गरेको उनको भनाइ थियो।

घरदैलो कार्यक्रममा सहभागी मतदाताहरूले पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए। भेरी नगरपालिकाका प्रेम विकले आफुहरूले पटक–पटक उही नेतालाई जिताएको, तर खानेपानी, बाटो, स्वास्थ्य र रोजगारीमा समस्या अझै उस्तै रहेको गुनासो गरे। त्यस्तै, एक युवा मतदाता तिलक खत्रीले भने आफुहरूले परिवर्तन, काम गर्ने र यहाँ बसेर दुःख बुझ्ने नेता चाहिएको बताए।

उनले अब भाषण मात्रै नभई परिणामसमेत चाहिएको बतए। स्थानीय ज्येष्ठ नागरिकहरूले जाजरकोटबाट प्रतिनिधित्व गर्ने नेताहरू सत्तामा पुगेपछि जिल्लामा फर्केर नआउने प्रवृत्ति बढेको बताए।

तस्बिरहरू :

प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार