२०८३ वैशाख २ , बुधबार

कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन गर्न राजीव शाहको प्रस्ताव



काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता समिति गठन गर्न प्रस्ताव गरेका छन्। इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसभित्रको आन्तरिक मतभेद संवादमार्फत समाधान गर्नुपर्ने बताएका हुन्।

उनले वर्तमान अवस्थामा सरकारसँग प्रभावकारी रूपमा जुध्न र प्रश्न गर्न सक्ने नेतृत्वको अभाव देखिएको उल्लेख गरे। उनका अनुसार पार्टी सभापति गगन थापा ले पनि अर्को पक्षलाई दबाबमा राखेर अघि बढ्ने धारणा लिन नहुने बताए। ‘एउटा पक्षको अनुहारले मात्रै पार्टी नबन्ने बताउँदै उनले सबै पक्षका सक्षम र सम्मानित व्यक्तिहरू समेटेर वार्ता समिति गठन गर्नुपर्नेमा जोड दिए।

शाहले मिलेर अघि बढे अदालतसम्म सकारात्मक सन्देश दिन सकिने उल्लेख गर्दै आवश्यक परे म्याद सार्ने प्रयाससमेत गर्न सकिने धारणा राखे। त्यसका लागि विचार, इज्जत र नियत स्पष्ट र सही हुनुपर्ने उनले बताए। उनले कांग्रेसको प्रजातान्त्रिक मूल्य र मान्यताप्रति सबै प्रतिबद्ध हुनुपर्ने भन्दै एकअर्कालाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याए।

साथै, केही नेतातर्फ संकेत गर्दै तपाईंहरूको समय सकियो भन्दै वर्तमान नेतृत्वमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाको पनि चर्चा गरे। उनले अहिलेको अवस्थामा पार्टी नेतृत्वको रूपमा गगन थापालाई उल्लेख गर्दै दुवै पक्षबीच सहमति र सहकार्यको विकल्प नभएको बताए। त्यसका लागि औपचारिक वार्ता समिति गठन अपरिहार्य रहेको उनको भनाइ थियो।

शाहले अन्तिम अवस्थामा मात्र नयाँ पार्टी गठनको विकल्प खुला हुन सक्ने भए पनि अहिले त्यसतर्फ सोच्न उपयुक्त समय नभएको स्पष्ट पारे। ‘कांग्रेस कमजोर भयो भने मुलुकको प्रजातन्त्र नै कमजोर हुने उनकाे भनाइ थियाे । त्यस्तै शाहले पार्टीभित्र एकअर्कालाई सामाजिक सञ्जाल तथा सार्वजनिक रूपमा गालीगलौज गर्ने प्रवृत्ति अस्वीकार्य रहेको भन्दै त्यसको अन्त्य गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार