२०८३ वैशाख २ , बुधबार

सशस्त्रका हवल्दारमाथि कुटपिट, गाउँपालिकाका उपाध्यक्ष पक्राउ



बुटवल । कपिलवस्तुमा एक जनप्रतिनिधिले सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका छन् । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यका अनुसार सशस्त्र प्रहरीमाथि कुटपिट भएको घटनापछि उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

स्थानीयका अनुसार उपाध्यक्षका भाइको जेसीबीका सामान ल्याउने क्रममा प्रहरीले शुद्धोदन गाउँपालिका–५ स्थित चेकपोस्टमा रोकेको थियो । सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा उपाध्यक्ष चौधरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि बर्दीमै कुटपिट गरेका हुन् । उक्त स्थान सशस्त्र प्रहरीको चेकपोस्ट क्षेत्र रहेको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार