२०८३ असार ११ , बिहीबार

अस्पतालमा उपचाररत बिरामी जुगाड खोलामा मृत भेटिएपछि…



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारार्थ भर्ना भएका एक बिरामी अस्पताल नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन् । तातोपानी गाउँपालिका– ५, लाम्राका ७३ वर्षीय लल्लु सार्की ६ दिनदेखि प्रतिष्ठानमा उपचार गराइरहेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार आइतबार राति उनी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएका थिए । अस्पताल बाहिर निस्केर उनी लडेको र बेहोस भएर खोलामा पर्दा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक बुढामगरले जानकारी दिए ।

 

बिरामी हराएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले खोजतलासका लागि प्रहरीको टोली परिचालन गरेको थियो । बिरामीका आफन्तहरुले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किनुमा अस्पतालको लापरबाही भएको आरोप लगाएका छन् । यद्यपि, लल्लु अस्पताल बाहिर निस्केको उनकै कुरुवा बसेकी श्रीमतीले समेत थाहा नपाएको बताएकी छन् ।

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार