२०८३ वैशाख २६ , शनिबार

त्रिदेशीय सडक खण्डको काम सुस्त : ठेकेदारको लापरबाहीले ५ किमी सडक कालोपत्रे भएन



दैलेख । दैलेखका संघीय सांसद एवं कर्णाली प्रदेशका पूर्व भौतिक मन्त्री अमर बहादुर थापासहितको टोली ढुंगा बिच्छाउँदै जिप पास गर्दै त्रिदेशीय सडक खण्डको अनुगमनमा महावु क्षेत्रमा पुग्यो । स्थलगत अनुगमनपछि टोलीले काम सुस्त भएको, निकै कडा चट्टान र भिर भएकोले सरकारले बिनियोजन गरेको बजेट अप्रयाप्त भएको निष्कर्ष निकाल्यो ।

 

दैलेख सदरमुकामदेखि महावु हुँदै जुम्लासम्मको सडक कालोपत्रेका लागि स्थलगत अध्ययन गरेका थापाले आफु संविधान सभा सांसद हुँदादेखि यसको पहल सुरु गरेको अहिलेसम्म राज्यको बजेट यस क्षेत्रमा प्रयाप्त मात्रामा नपुगेको बताए । ‘मेरो कार्यकालभित्र आगामी तीन वर्षमा यो सडक कालोपत्रे गराउँछु केन्द्र सरकारले मानेन भने मन्त्रालयमा बजेटका लागि धर्ना बस्छु, थापाले भने ।’

 

मृत्यु मार्ग बनेको कर्णाली राजमार्गको वैकल्पिक सडकको रूपमा त्रिदेशीय सडक हो । आर्थिक अवस्था कमजोर भएका जनताको लागि लाखौँ रकम बचत हुने सुरक्षित हुने र ७९ किलोमिटर छोटो हुने यस्तो सडकका लागि सरकारले दैलेख खण्डलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्ने थापाको भनाइ छ ।

 

स्थलगत अनुगमनका लागि नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्मा, जिल्ला प्रशासन कार्यालय र सडक विभाग सुर्खेतको इन्जिनियर र महावै गाउँपालिकाको जनप्रतिनिधिको उपस्थिति थियो । दैलेख सदरमुकामको काँडा चौरलाई बेस बनाएर दैलेखदेखि कालिकोटसम्म ४० किलोमिटर भू भागमा अहिले ७ वटा निर्माण कम्पनीबाट काम सुरु गरिएको भए पनि ठेकेदारको लापरबाही,पहाडी क्षेत्र र चट्टान धेरै भएका कारण कामले गति लिन सकेको छैन ।

 

कालोपत्रे नगर्नेलाई कारवाहीको तयारी
नारायण नगरपालिका ४ भैसेखोरदेखि भवानी गेटसम्मको ५ किलोमिटर सडकखण्ड गत चैतभित्र कालोपत्रे गरिसक्नुपर्ने थियो । निर्माणको जिम्मा लिएको कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले कालोपत्रे नगरेको भन्दै स्थानीयबासीले आक्रोश पोखेका छन् ।

 

५ करोड ५८ लाखमा ठेक्का सम्झौता भएको उक्त सडकको काम वैशाखभित्र पुरा नगरे सडक विभागले कालोसूचीको लागि प्रक्रिया बढाउने सडक विभाग सुर्खेतका इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए ।महावु खण्डका धेरै स्थानहरूमा कडा चट्टान भएकोले र भौगोलिक कठिनाइले काम गर्न केही असहज भए पनि आफूहरूले निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीहरूलाई बारम्बार ताकेता गरेको र अनुगमनलाई पनि प्रभावकारी बनाएको सिंहको भनाइ छ ।

 

महावु क्षेत्र लगायतका विभिन्न पर्यटकीय क्षेत्रहरूको सहज पहुँच र विकासका लागि यो सडक महत्त्वपूर्ण मानिएको नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले जानकारी दिए । नेपालगन्जको बागेश्वरी, सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोकी क्षेत्र हुँदै महावु पर्यटकीय क्षेत्र, जुम्लाको तातोपानी र रारा सम्मको पर्यटन पर्वद्धनमा यो सडक निकै महत्त्वपूर्ण हुने शर्माको भनाइ छ ।

 

जमनाहा नाकादेखि सुर्खेत, दैलेख सदरमुकाम महावु, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चिनको सिमाना नाग्चेनाग्लासम्म सडक बिस्तारका लागि सरकारले विगत चार वर्षदेखि त्रिदेशीय सडकलाई प्राथमिकतामा राखेको छ । यो सडक निर्माण भए अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर सडक छोटो र सुरक्षित हुने छ । नयाँ पत्रिका दैनिक

प्रकाशित मिति : २०८० वैशाख ५ गते मंगलबार