
हुम्ला । हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । बिहीबार एक कार्यक्रमका बीच नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।
नाम्खा गाउँपालिकाका ६ वटा वडामा १५ महिना मुनिका बालबालिका र १६ महिनादेखि २३ महिना मुनिका बालबालिकालाई दुई चरणमा एक महिना १४ दिन लगाएर खोप दिइएको नाम्खा गाउँपालिका स्वास्थ्य संयोजक ग्याचु लामाले बताए ।
संयोजक लामाले सम्पूर्ण स्वास्थ्यकर्मीको सहयोगमा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न पाएकोमा खुसी लागेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराले नेपाल सरकारबाट दिइएको १६ प्रतिशत रकम स्वास्थ्यमा छुट्याउनु पर्ने भनिए पनि लागू नभएको बताए ।
उनले नाम्खा गाउँपालिकाले नेपाल सरकारबाट आएको रकम स्वास्थ्यमा छुट्याउन पालिकालाई अनुरोध गरे । पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा जिल्ला अस्पताल हुम्लाबाट सहभागिता जनाएका जिल्ला अस्पताल कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले पूर्ण खोप सुनिश्चित घोषणा गर्न हुम्ला सदरमुकामसँग नजोडिएका गाउँपालिकामा समस्या भएकाले तीन वटा गाउँपालिकालाई खोप सेन्टर स्थापन गर्ने निर्णयअनुसार नाम्खालाई पनि समावेश गरिने बताए ।
आगामी आर्थिक वर्षमा खोप सेन्टर स्थापना गर्ने लक्ष्य रहेको उनले बताए । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले लगातार ८ वर्षको लामो प्रयासपछि नाम्खालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेकोमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।
कार्यक्रममा नाम्खा गाउँपालिकाले ६ वटै वडाका अध्यक्षलाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याएकोमा प्रमाणपत्र दिएको थियो । त्यस्तै गाउँपालिकाले नाम्खामा भएका ४ वटा स्वास्थ्य चौकी र ६ वटा सामुदायिक स्वास्थ्य सेवा केन्द्रलाई पनि सम्मान गरेर प्रमाणपत्र दिएको थियो ।