२०८३ वैशाख २६ , शनिबार

सुर्खेत एयरपोर्ट विस्तार प्रती स्थानीय आक्रोशित



पौष ९, सुर्खेत
सुर्खेत विमानस्थललाई विस्तार गर्ने सरकारको योजनामा अवरोध हुने संभावना वढेर गएको छ । विमानस्थल विस्तार हुँदा प्रभावित हुँने स्थानीयहरुको भेलाले जमीन नदिने निर्णय गरेको हो ।
वीरेन्द्रनगर नगर पालिका वडा नं १२ मा रहेको अमर ज्योति नमुना माध्यामिक बिध्यालयको आयोजना तथा सोही वडाका अध्यक्ष लोकप्रसाद चालिसेसहितका सबै सदस्यहरुको उपस्थितिमा भएको एक भेलाले नेपाल सरकार र कर्णाली प्रदेश सरकार वीच विमानस्थलको रनवे वढाउने सम्वन्धमा भएको सहमतिको समेत विरोध गरेको छ ।
भेलाले सोही स्थानमा रहेको अमरदीप क्याम्पस र अधिग्रहणवाट प्रभावित हुनेहरुले जति नै त्याग गर्दापनि समस्या समाधान नहुने तर्फ सजग गराएको छ । उत्तर दक्षिण रनवे भएकोले जति नै रनवे वढाएपनि ठूला जहाजहरु वस्न नसक्ने भेलाले निष्कर्ष निकालेको छ ।
भेलाले दिर्घकालिन रुपमा नै समस्या समाधान हुनेगरी कदम चाल्न सरकारलाई आग्रह गर्दै विमानस्थलको वैकल्पिक स्थान छनौट गर्न अनुरोध समेत गरेको छ ।
भेलामा वीरेन्द्रनगर वडा नं १२ का अध्यक्ष लोकप्रसाद चालिसेले आफु पीडित जनताको साथमै भएको वताए । रनवे विस्तारले ठूला जहाज आउने निश्चित भएपछि मात्रै आफुहरु यसमा सहमत हुने वताए । जनताले गर्ने जुनसुकै किसिमको आन्दोलनमा आफ्नो साथ र समर्थन हुने उनको भनाइ थियो ।
वीरेन्द्रनगर वडा नं १० का अध्यक्ष रत्नवहादुर वुढाले हालको एयरपोर्टको विस्तारले समस्याको समाधान हुने नदेखिएकोले अन्य उपयुक्त स्थानमा विमानस्थल वनाउन आग्रह गरे ।
अमरज्योति नमुना माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले सवै खालका हवाईजहाजहरु उडान हुन सक्ने, अन्तर्राष्टिय स्तरका उडान हुनसक्ने गरि उचित स्थानमा विमानस्थलको विकल्प खोज्न सम्वन्धित निकायलाई अनुरोध गरे। उनले विमानस्थल निर्माण गर्नका लागि सबै तहका सरकार र सबै सरोकारवालाहरुलाई आग्रह र अनुरोध समेत गरे ।
उनले हालको एयरपोर्ट अहिलेसम्म ४ पटक विस्तार भैसकेको वताए । ’सुरुमा वि. सं. २०२१ / २०२३ मा बिना मुआव्जा स्थानीयहरुका सयौ बिघा जमिन एयरपोर्ट वनाउने नाममा जवर्जस्ती कव्जा गरिएको थियो । २०३४ सालमा पनि पुन विस्तार गरि वाँकी जनतालाइ बिस्थापित गरियो र २०६० सालमा सेनाका लागि भनेर पुनः थप जग्गा अधिग्रहण गरियो,’ आचार्यले जग्गा अधिग्रहण गर्दा जनतालाई निकै मर्का परेको सविस्तारमा जानकारी गराउदै भने ।
एयरपोर्ट विस्तार गर्ने क्रममा २०६६ सालमा पुनः अधिग्रहण गरि नेवारे क्षेत्रका जनताहरुलाइ चिल्लिबिल्ली पारेको उनले वताए । अधिग्रहण गर्दा बिध्यालय समेत बिस्थापित भएको स्मरण गर्दै त्यति गर्दा पनि नपुगेर फेरि अमरज्योति विध्यालयलाई बिस्थापित गर्न भैरहेको चलखेल प्रती कडा विरोध गरे ।
आचार्यले अमरज्योति र हरेक वर्ष त्यहा पढ्ने कर्णाली प्रदेशका ३ हजार भन्दा बढी बिध्यार्थी र तिनका अभिभावक र परिवार तथा विगत एकसय बर्सदेखी मिलेर बसेको समुदायलाई छिन्नभिन्न पारेर हवाइजहाज आउने तर भाडा नघट्ने गरि एयरर्पोर्ट बिस्तार गर्नुको औचित्य पुष्टि हुन नसक्ने तर्फ सम्वन्धित पक्षको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २०७७ पुस ९ गते बिहीबार