
पौष १३, सुर्खेत
पूर्व मन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिन्ह र पार्टी कार्यालयमा आँखा नलगाउन चेतावनी दिएका छन् ।
आईतबार राति सुर्खेत आएका वस्नेतले सुर्खेतको घण्टाघर पार्कमा आयोजित हजारौं युवाहरू सहभागी सभामा सूर्य चिन्ह आफ्नो रहेको दावी गर्दै यो चिन्ह बलिदानवाट स्थापित भएको वताए । ’ सूर्य चिन्ह तपाईँहरुको विर्ता हैन्, अब आउने चुनावमा हाँडी लिएर चुनावी मैदानमा उत्रिनुहोस्,’ प्रचण्ड र माधव नेपाल प्रती आक्रोशित वनेका बस्नेतले भने, ‘दुई तिहाईको बहूमत प्राप्त सरकारलाई सफल बनाउन छाडेर प्रधानमन्त्री विरुद्ध मोर्चावन्दी गर्ने तपाइँलाई हाँडी चुनाव चिन्ह सुहाउँछ ।’
वस्नेतले प्रचण्ड खेमा केपी ओलीसंग मिल्न हैन निल्न आएको भन्दै आफै चोइटिएर गएको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीले मिलाउन खोज्नु भयो, प्रचण्ड–नेपालले निल्न खोज्दा आफै विभाजित भएर गए ।’
माधव नेपाल प्रती प्रहार गर्दै वस्नेतले भने,’ प्रचण्डको सती जानु भएको छ, माइती घरको सडकमा बस्दा क्या मज्जा आयो होला, सूर्य चिन्हलमाथि आँखा लगाउने तपाइँको हैसियत र औकात पुग्दैन् ।’
प्रधानमन्त्री ओलीलाई ३ वर्षसम्म कामै गर्न नदिएको भन्दै प्रधानमन्त्री र अध्यक्षवाट पछार्न खोजेपछि संसद विघटन गरिएको उनको भनाइ थियो । प्रचण्ड–नेपाल पक्षले सानो टुकडी लगी विभाजन भएर गएको बस्नेतको आरोप छ ।
वस्नेतले प्रधानमन्त्री ओलीलाई माधव प्रचण्ड पक्षले लगाएको आरोपको प्रतिवाद गर्दै भने,’ प्रधानमन्त्रीलाई सामन्त र प्रतिगमनकारी भन्दै कुर्लनु हुन्छ रे ! केपी भनेको सुन्न चाहनु हुन्न भने खड्कप्रसाद ओली भन्नुहोस्,’ बस्नेतले थपे, ‘अपराधीलाई कारवाही गर्दा ओली विरुद्ध लाग्नुभयो, अब सडकमै बस्नुहोस, तपाईंहरुको ठाउँ त्यहि हो ।
नेपाली काँग्रेस चुनावको पक्षमा भएको वस्नेतको दावी छ । ‘बाहिर देखावटी प्रदर्शन गरेपनि यो उसको चुनावी सभा हो, हामीले पनि केपी ओलीले गर्नु भएका राम्रा कामको प्रचार गर्दै प्रचण्ड–नेपालले कामै गर्न नदिएको सन्देश हरेक टोल तहसम्म पु¥याउन सम्पूर्ण कार्यकर्तालाई अनुरोध छ ।’
नेकपाको ओली समूह नै मुलधार र संस्थापन भएको बस्नेतको ठहर थियो। प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसदिय दलमा दर्ता गर्ने आँट नभएपछि संसद सचिवालयमा दर्ता गरेको बस्नेतको आरोप छ । पार्टी विभाजनको खलनायक पात्र प्रचण्ड भएको र उनको सती नेपाल र खनाल गएको बस्नेतको आरोप छ ।
सभालाई संवोधन गर्दै नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री नवराज रावतले प्रचण्ड र माधव नेपाल समूहले सरकारलाई कामै गर्न नदिएको वताए । सरकार अदालतको आदेश मान्न तैयार भएको भन्दै राज्यमन्त्री रावतले माधव नेपालले १५ वर्ष पार्टी प्रमुख र प्रचण्डले ३२ वर्ष पार्टी चलाएको र केपी ओलीलाई एक कार्यकाल पनि काम गर्न नदिएको गुनासो गरे ।
भेलालाई युवा संघका केन्द्रीय सहसंयोजक किरण पौडेल लगायतले संवोधन गरेका थिए ।
पार्टी विभाजन भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले सुर्खेतमा स–साना वैठक र भेला गर्दै आएकोमा अव ठूला वैठक र जुलुसहरुको आयोजना गर्न थालेका छन् ।
सभामा परिणत हुनु अघि सुर्खेतमा रहेका दैलेख, जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरुवाट आफ्नै जिल्लाको व्यानरमा युवाहरु कार्यक्रम स्थलमा भेला भएका थिए । हजारौंको संख्यामा रहेका कार्यकर्ताहरु मोटर साईकल ¥याली गर्दै आँखा अस्पताल, वीरेन्द्रनगर बजार र कालिन्चोक हुँदै घण्टाघरमा आमसभा स्थल आईपुगेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विभाजनपछि ओली समूहले सुर्खेतमा छ्टुटै भेलाको आयोजना गरेको हो । भेलामा ओली समूहका नेता महेश बस्नेत लगायत केन्द्रिय, प्रदेश तथा जिल्ला स्तरका नेता र कार्यकर्ता सहभागी भएका छन् ।
आजै वीरेन्द्रनगरमा ओली समूहको कार्यक्रम हुनु पूर्व प्रचण्ड–नेपाल समूहका नेताहरूले पत्रकार सम्मेलनको आयोजना गरेर वयलगाडा चुनाव चिन्ह लिन ओली समूहलाई कटाक्ष गरेका थिए । उनीहरूले महेश बस्नेतले देखेको दिवा सपना भएको वताएका थिए। उक्त समूहका नेता विष्णु रिजाल र निरज आचार्यले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको गम्भीर आरोप लगाएका थिए ।