२०८३ वैशाख २ , बुधबार

माओवादी पूर्व लडाकुका दुवै संगठन ओली नेतृत्वको नेकपामा समाहित

पूर्व लडाकुलाई ओलीले भने–प्रचण्डले जस्तो प्रयोग गरेर धोखा दिन्न


काठमाडौं ११ माघ

तत्कालीन माओवादीका लडाकुहरुको संगठन पूर्व जनमुक्ति सेना तथा वहिर्गमित बाल सेनाको संगठनहरु केपी ओली नेतृत्वको नेकपामा समाहित भएका छन् ।

शनिबार प्रचण्ड-माधव पक्षधर नेकपा केन्द्रीय सदस्य लीलबहादुर थापासहित पूर्व लडाकु कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएका हुन् । पूर्व लडाकु संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र वहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितका पदाधिकारीहरुले ओली पक्षमा लागेको घोषणा गरेका हुन् ।

नेकपा नेता थापाले पूर्व लडाकु, वहिगर्मित सेना र बाल सैनिकहरुको संगठन अब ओली नेतृत्वको नेकपामा समाहित भएको नेपालप्रेसलाई बताए । उनका अनुसार घाइते अपांग पूर्व लडाकुको उपचार सरकारले व्यहोर्ने गरी मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।

त्यस्तै पूर्व लडाकुलाई राज्यको तर्फबाट परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका विभिन्न संरचनामा समायोजना गर्ने सहमति भएको थापाले बताए । त्यस्तै शहीद परिवारका एक घर एक रोजगारको लागि पनि तत्कालै प्रक्रिया थाल्ने सहमति भएको उनले बताए ।

प्रचण्डले आफ्नो लागि ज्यान दिन हिंडेका लडाकुलाई अलपत्र पारेर छोरीज्वाइँको लागि मात्र बार्गेनिङ गरेको आरोप लगाइरहेका ओलीले शनिवार पूर्व लडाकु कमाण्डरहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व लडाकुसँग भेटेर प्रधानमन्त्री तथा पार्टी अध्यक्षले प्रचण्डले उनीहरुको भावनाको दुरुपयोग गरेको भन्दै आफूले योगदानको सम्मान गर्ने बताएको जानकारी दिए ।

थापाले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने–जनयुद्धको अवधिमा तपाईहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरुका भावनाको दुरुपयोग गर्यो, यो तथ्य बुझेर तपाईंहरु जुन निष्कर्षमा आइपुग्नुभयो यो एकदमै सही छ ।

ओलीले पूर्व लडाकु कमाण्डरहरुलाई राजनीतिक रुपमा उनीहरुको समस्या समाधान गर्ने भन्दै ढुक्क भएर आफू नेतृत्वको पार्टीमा सहभागी हुन आग्रह गरेका छन् । अ‍ोलीले विगतमा प्रचण्डले दिएजस्तो धोखा आफूबाट नहुने समेत बताएका थिए ।

 

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतबार