२०८३ वैशाख २ , बुधबार

जनयुद्धका घाईते, अपांग र जनमुक्ति सेनाको व्यवस्थापन गर्न सरकार लागेको छ: गृहमन्त्री थापा



सुर्खेत १२ माघ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादलले) जनयुद्धका घाईते, अपांग लगायत पूर्व जनमुक्ति सेनाको व्यवस्थापन गर्न नेपाल सरकार लागेको भन्दै यस सम्बन्धी हालैको मन्त्रीपरिषदको वैठकले निर्णय गरेको बताएका छन ।

सोमवार नेपाल कम्युनिष्ट पाटी नेकपा कालिकोटले आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सशस्त्र द्वन्दमा रोल्पा, रुकुम पछिको प्रभावित जिल्ला कालिकोट भएकाले यहाँका घाईते, अपांग र विस्थापितहरुको संख्या निकै बढि रहेकाले उनीहरुको व्यवस्थापन तर्फ आफुहरु लागिरहेको दावी गरे ।

दन्द्धमा कालिकोटबासीको महत्वपुर्ण योगदानको चर्चा गर्दै युद्धको नेतृत्व गरेर सरकारमा पटक(पटक गएपनि प्रचण्डले योद्धाहरुको व्यवस्थापन गर्न नसकेकोमा वर्तमान केपि वली नेतृत्वको सरकारले उनीहरूलाई संवोधन गर्ने गरी निर्णय भइसकेको बताए ।
गृहमन्त्री थापाले भने, ‘कुर्सीका लागि गरिएको लडाईको मुख्य अभियान्ता प्रचण्ड अहिले सडकमा गएका छन ।’ सरकारद्वारा प्रतिवन्धित विप्लव समूह पनि राजनीतिक मुल प्रवाहमा आउनेमा आफु आशावादी भएको उनले बताए ।

सभालाई सम्बोधन गर्दैगर्दा मन्त्री थापाले आफुसंगै जनयुद्ध लडेका प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लव समुहका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्डलाई) समेत सम्झिएका छन । उनले यहि माटोमा नेता प्रकाण्ड र राष्ट्रगुरु योगी नरहरिनाथ जन्मेको स्मरण गर्दै फरक धारमा रहेपनि प्रकाण्डले देश र जनताका लागि गरेको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा संवोधन गर्दै थापाले सह- योद्धाहरुलाई काखा र पाखा फालेर निजी स्वार्थको बाटोमा लागेका प्रण्डलाई जनताले साथ नदिने बताए । प्रतिगमन भन्दै सडक अभियानका लागेका प्रचण्डलाई आफुले पनि साथ छाडेकोले उनी कमजोर भएको बताए । देशको विकास गर्न छाडेर कुर्सीको लागि माधवलाई बोकेर सडकमा जानुले देश अझै दश वर्ष विकासबाट पछाडि धकेलिएको वताए । उनले सचेत नागरिकहरुले उनीहरूको आन्दोलनलाई साथ नदिन आग्रह गरे ।

कालिकोटमा भएको उक्त कार्यक्रमलाई संवोधन गर्दै नेकपा कर्णाली प्रदेश सह-संयोजक यमलाल कडेलले कर्णाली प्रदेश सरकारले गरेको अनियमितताको वारेमा चर्चा गरेका थिए।

पाटी सचिव तथा केन्द्रिय समिति सदस्य नगेन्द्र शाही (नेशनल) को अध्यक्षतामा भएको जनसभामा नेकपा केन्द्रिय सदस्य तथा स्वास्थ्य राज्यमन्त्री नवराज रावत, नेकपा कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख वोगटी, नेकपा केन्द्रिय सदस्य तथा राष्टिय योजना आयोगका सदस्य मिनबहादुर शाही लगायतका केन्द्रीय सदस्यहरु, जनवर्गीय संगठनका प्रमुखहरु लगायतले संवोधन गरेका थिए।

यसैगरी, प्रेस संगठन कालिकोटले सोमवार नै आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विप्लव समूहलाई राजनीतिक तथा प्रशासनिक रुपमा नियन्त्रण गर्ने सरकारको नीति यथावत नै रहेको बताउँदै छिट्टै विप्लव समूहलाई पनि राजनीतिको मुल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताए ।

गृहमन्त्री थापाले सरकारले वैशाखमै चुनाव गर्ने गरी व्यापक तयारी थालेको बताए । उनले निर्वाचनका लागि अदालतले छिटो फैसला गरे सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय तयारीमा जुट्ने बताए । गृहमन्त्री बादलले भने, ’निर्वाचन वैशाखमा हुने नहुने विषयमा अदालतको फैसलाले निर्धारण गर्छ ।’

अदालतले छिटो फैसला गरे वैशाखमा, ढिलो फैसला गरे केही पर सर्ने सम्भावना पनि रहेको बताए । उनले अदालतमा अहिले भइरहेको बहसले फैसला ढिलो हुने सम्भावना कायम रहेको भएपनि मुलुक निर्वाचनको दिशामा होमिसकेको बताए ।

गृहमन्त्री थापाले प्रचण्ड-नेपाल समूह पार्टी फुटाउने खेलमा लागेकाले उनीहरुको साथमा आफू नलागेको बताए । पत्रकारको जिज्ञासाको जबाफ दिँदै उनले भने, ‘पार्टी फुटाउनेहरुका विपक्षमा र एकताको पक्षमा उभिएको हुँ।’

’नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविरुद्धमा गुट निर्माण गरी फुटतिर जानुभयो । म त्यो गुटबादी पक्षमा उभिन सकिन । त्यसैले प्रचण्डको साथ छोडेको हो,’उनले भने, ’आफू अहिले पनि पार्टी एकताको पक्षमा छु।’

एक फरक प्रसंगमा गृहमन्त्री थापाले निर्मलाको बलात्कार पछि हत्या गर्ने अपराधी ढिलोचाँडो कानुनी दायरामा आउने दावी गरे । उनले भने, ’नेपाल प्रहरी झण्डै ९५ प्रतिशत अपराध अनुसन्धानमा सफल भएको छ । कतिपय घटनाहरु अनुसन्धानमा समय लाग्छ । त्यसैले निर्मलाको हत्यारा खोजी गर्न समय लागेको हो ।’

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमबार