
सुर्खेत १६ माघ
केपी ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सुर्खेतले भोली शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जिल्ला भेलाको आयोजना गर्न लागेको छ।
सुर्खेत जिल्लाका ९ वटै पालिकाका विगतमा पार्टी जिम्मेवारीमा रहेका कार्यकर्ताहरुको भेला वीरेन्द्रनगर वडा नं ४ को भैरव माध्यामिक विध्यालयमा आयोजना हुनेछ। भेलामा जिल्लाका १ हजार ५ सय अगुवा कार्यकर्ता सहभागी हुने आयोजकले जानकारी दिएको छ।
विहान ११ वजेवाट सुरु हुने कार्यकर्ता भेलालाई संवोधन गर्न उक्त पार्टीका स्थायी समिति सदस्य तथा खानेपानी मन्त्री मणिचन्द्र थापा सुर्खेत आईपुगेका छन् । भेलालाई पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज एवं पूर्वमन्त्री यामलाल कंडेल लगायतले संवोधन गर्नेछन् ।
भोली हुने भेलावारे प्रतिकृया दिदै नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य डण्डीप्रसाद शर्माले सवै तयारी पूरा भएको र भेलाले पार्टीलाई अझै सशक्त वनाउने वताए । माधव र प्रचण्डको गलत निर्णयको कारण पार्टी विभाजनको अवस्थामा पुगेपनि सुर्खेतमा पार्टी विभाजनको असर नपर्ने उनको दावी छ।
पार्टीको विभाजनपछि सुर्खेत जिल्लामा हुन लागेको भेलालाई विशेष महत्वका साथ प्रदेशभर हेरिएको छ। खासगरी नेकपाभित्र ‘टावर पर्सनालिटी’ रहेका यमलाल कडेलको गृह जिल्ला समेत रहेकोले यो भेलालाई नेकपा वाहेकका दलहरूले समेत महत्त्वका साथ हेरिरहेका छन् ।
नेकपा भित्रको ओली समूह एकढिक्का रहेको, माधव नेपाल समूहका अधिकांश कार्यकर्ता र पूर्व माओवादी समूहमा रहेका ठूलो संख्याका कार्यकर्ताहरु ओली समूहमा लागेकाले भेलामा उल्लेखनीय उपस्थिति हुने नेकपा वीरेन्द्रनगर कमिटीका सचिव गणेश वली वताउँछन्।
सुर्खेत जिल्लामा कांग्रेसको राजनीतिको दवदवा रहेकै वेला तत्कालीन नेकपा एमालेले कडेललाई जिल्लाको पार्टी नेतृत्व सुम्पेको थियो । विध्यार्थी राजनीतिवाट एकैचोटी २०४८ सालमा सुर्खेत जिल्ला पार्टी सचिव वनेका कडेललाई त्यसपछि पछाडि फर्कनु परेन।
उनले आफु मात्रै होईन, पार्टीलाई पनि कांग्रेसको प्रतिस्पर्धी वनाए। कार्यकर्ताहरुमा जुझारुपनको विकास गराउदै कम्युनिस्ट नेताको ‘रोलमोडेल’ मा आफुलाई स्थापित गरे। तत्कालीन समयमा नेपाली कांग्रेसको दवदवा र आफ्ना कार्यकर्ताहरुमा रहेको हीन भावनालाई उर्जा पैदा गरे र त्यसपछिका स्थानीय तह लगायतका निर्वाचनमा पार्टीलाई विजयी वनाए।
५० को दशकमा नेकपा एमालेका अर्का नेता ऋषिप्रसाद शर्मा सुर्खेतको पूर्वी क्षेत्रवाट उदाउदै जिल्ला नेतृत्वमा आईपुगे। उनको सालीन व्यक्तित्व र कडेलको उर्जावान नेतृत्वले विस्तारै गुटको आकार लिदै गयो। सुर्खेतमा लामो समयसम्म नेकपा एमाले दुई धारमा देखियो।
ऋषि शर्माको अवसान पछि समेत सुर्खेत एमाले दुई गुटमा प्रष्ट विभाजित भैरह्यो। गुटबन्दीकै कारण ०७० को दोश्रो संविधान सभाको निर्वाचनमा शिवप्रसाद उपाध्याय कडेल विरुद्धमा वागी उम्मेदवार वने।
तर, अहिले परिस्थिति वदलिएको छ। ऋषि प्रसाद शर्माको विरासत वोकेका उनका परिवारका सदस्य र समर्थकहरु र कडेल समूह एकै ठाँउमा आईपुगेको छ। यी दुई वीचको मिलनले सुर्खेतमा पूर्व एमाले खेमा लगभग एकै ठाउँमा आउने कार्यकर्ताहरुको विश्वास रहेको छ।
सुर्खेतमा पूर्व एमाले भित्र केन्द्रको राजनीति भन्दा पनि कडेल पक्ष र अरु वाँकी सवै अर्को पक्ष हुने राजनीति ५० को दशक देखि कायम थियो। तर अब त्यो अवस्था तोडिएको नेकपा जिल्ला कमिटी सदस्य टेकेन्द्रकुमार वस्नेत वताउछन। उनी भन्छन, ‘हाम्रो पार्टी अहिले एमालेकालमा भन्दापनि झनै सशक्त भएको छ।’
उनले सुर्खेती कम्युनिस्ट आन्दोलनका पुराना सवै नेताहरु आफ्नो टिममा भएको र नयाँ पुस्ताका युवाहरुको ‘क्रेजु आफ्नो पार्टीमा भएकोले जुनसुकै निर्वाचनमा सहज विजय हुने आँकलन गर्दछन। ‘पार्टीमा पूर्व माले र माक्सवादी हुँदै अहिले पूर्व माओवादीका साथीहरूको समेत एकीकरण भएकोले पार्टी अझै सुदृढ भएको छ,’ नेता वस्नेतले भने। उनले माघ महिनाभित्र जिल्लाका सवै पार्टी कमिटीहरु पूनर्गठन गरिसक्ने अभियानमा आफूहरु लागेको वताए ।