२०८३ वैशाख २६ , शनिबार

तीन टोलका किसानको बेचे एक वर्षमा ४८ लाखको दूध



दैलेख । दैलेखको नारायण नगरपालिकाका तीनवटा टोलले एक वर्षमा ४८ लाखको दूध बिक्री गरेका छन्। नगरपालिकाको वडा नं. ३ कालीमाटी, वडा नं. ११ विन्ध्यवासिनी र वडा नं. ६ बिजौराका किसानहरूले एक वर्षमा ८० हजार लिटर दूध स्थानीय डेरी उद्योगलाई बिक्री गरेका हुन्।

डेरीले प्रतिलिटर ६० रुपैयाँका दरले किसानहरूलाई रकम प्रदान गर्ने गरेको छ। किसानहरूले यस वर्षको जेठसम्म मात्रै ४८ लाख रकम बुझेका छन्।किसानहरूले उत्पादन गरेको दूध ल्याक्टोमिटरका आधारमा चेक गरेर राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्थाले घरबाटै खरिद गर्छ। स्थानीय सहकारीले घरबाटै दूध लिएपछि बजारमा बिक्री गर्न जाने समयको बचत भएको किसानहरूले बताए।

नारायण नगरपालिका– ३ कि दूध उत्पादक किसान मनीषा कठायतले कालीमाटीबाट सदरमुकाम दूध बिक्री गर्न जाँदा–आउँदा तीन घण्टा बचत हुने र उक्त समयमा भैँसीलाई घाँस काट्न सक्ने बताइन्। दूध उत्पादनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत प्रदेश सरकार, नारायण नगरपालिका र पशु सेवा कार्यालय दैलेखले विगत तीन वर्षदेखि भैँसी वितरण कार्यक्रम सञ्चालन गरेका थिए।

केही स्थानमा वितरण गरेका भैँसीहरूबाट प्रतिफल प्राप्त हुन नसकेको भए पनि सक्रिय किसानहरूले दूध बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएका पशु सेवा कार्यालयका प्रमुख भीमबहादुर विष्टले बताए। नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले तीन वर्षदेखि किसानहरूलाई अनुदानमा भैँसी वितरण कार्य सुरु भएसँगै किसानहरूले दूध बिक्री गरेर लाखौँ आम्दानी लिन सफल भएका बताए।

‘डेरीमा मात्र बिक्री गर्ने किसानहरूले ४८ लाख पाए। किसान आफैँले कित्लीमा ल्याएर बजारमा बिक्री गरेको रेसियोको आधारलाई मापन गरिएको छैन,’ उनले भने, ‘वार्षिक करिब ५० लाखबराबरको दूध किसानहरूले दैनिक आफैँ बजार आएर बिक्री गर्छन्।’

नारायण नगरपालिकाबाट मात्र वार्षिक करिब करिब १ करोड बढी रकमको दूध किसानहरूले बिक्री गर्ने गरेका नगर प्रमुख शर्माको भनाइ छ। नगरपालिकाले यो वर्ष मात्रै किसानहरूलाई १४ वटा भैँसी अनुदानमा वितरण गरेको छ। किसानहरूले २५ प्रतिशत रकम जम्मा गरेर भैँसी खरिद गरेका पशु शाखा दैलेखका चित्र प्याकुरेलले जानकारी दिए।

किसानलाई उत्पादनको आधारमा थप अनुदान
कर्णाली प्रदेश सरकारमार्फत पशु सेवा कार्यालय दैलेखले डेरीमार्फत दूध बिक्री गरेका किसानहरूले वर्षभरि बिक्री गरेको दूधलाई आधार मानेर प्रतिलिटर ५ रुपैयाँ थप अनुदान प्रदान गरेको छ।

दैलेखका तीनवटा टोलबाट मात्रै बिक्री गरेको दूधको विवरणलाई आधार मानेर ८० हजार लिटर दूधको प्रतिलिटर ५ रुपैयाँका दरले ४ लाख थप अनुदान रकम वितरण गरिएको हो। किसानहरूको घरमै पुगेर अनुदानको रकम वितरण गरिएको राष्ट्रसेवक सहकारी संस्था दैलेखका अध्यक्ष लालबहादुर खड्काले बताए।

किसानलाई प्रोत्साहन दिन घरमै पुगे प्रजिअ हमाल
किसानहरूलाई थप उत्साह प्रदान गर्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल किसानको घरमै पुगेका छन्। सरकारले प्रदान गरेको उत्पादनमा आधारित अनुदान रकम वितरण गर्न प्रमुख जिल्ला अधिकारी हमाल नारायण नगरपालिका वडा नं। ३ कालीमाटीका किसानको घरमा पुगेका हुन्।

उनले अब हरेक क्षेत्रमा उत्पादनको आधारमा किसानहरूलाई अनुदान दिनुपर्ने कामलाई सरकारले अझै प्रभावकारी बनाउने र किसानहरूले समेत सोहीअनुसार काम गर्नुपर्ने बताए। उन्नत कृषि नेपालको लागि आवश्यक रहेको उल्लेख गर्दै प्रजिअ हमालले सानो-सानो परिमाणमा धेरै खाले कृषिमा लाग्नुभन्दा एउटा किसानले एउटा मात्र क्षेत्रमा ठूलो परिमाणमा उत्पादन गर्न सके स्थानीय सरकारले नै खरिद गरिदिने बताए।

प्रकाशित मिति : २०८० असार १६ गते शनिबार