
माघ १९, सुर्खेत
कर्णाली प्रदेश योजना आयोगले एकद्धार प्रणालीद्धारा कार्यक्रम संचालन र कार्यान्वयन गर्ने उद्देश्य वमोजिम विकास साझेदारहरुसंग अन्तरक्रिया गरेको छ ।
सोमवार सुर्खेतको वीरेन्द्रनगरमा आयोगले कर्णाली प्रदेशमा कार्यरत विकास साझेदारहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरि दोहोरोपना हटाउन विकास साझेदारसंग एकद्वार प्रणालीमा लगानी गर्न छलफल गरिएको हो ।
कर्णाली प्रदेशलाई कार्यक्षेत्र वनाइ कार्यक्रम संचालन गरिरहेका साझेदारहरुको कार्यक्रम र कार्यान्वयन अवस्थाका वारेमा जानकारी आदान प्रदान गर्ने , विकास साझेदारहरुका कार्यक्रमहरुलाई सरकारका योजना तथा कार्यक्रममा मुलप्रवाहिकरण गर्ने र कार्यक्रम कार्यान्वयनमा रहेको दोहोरोपना,समन्वय र प्रतिवेदनको अवस्थावारे छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायाले जानकारी दिए । कार्यक्रममा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कर्णाली प्रदेशमा कार्यरत सरोकारवालाहरुको कार्यक्रम कार्यान्वयनको अवस्था वारेमा जानकारी प्रस्तुत गरेका थिए ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्वराज खड्काले कर्णालीको आवश्यकता र महत्वसंग जोडिएका योजना तथा कार्यक्रम ल्याउन विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका थिए ।
कर्णालीको लगानी सम्मेलनमा सामाजिक क्षेत्रमा गरिने लगानीका लागि विकास साझेदारहरुवाट सहयोग आवश्यक भएको कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रवहादुर शाहीले वताए ।
कर्णालीको विकास र समृद्धिको लागि निर्माण भएको पञ्चवर्षिय योजनामा प्राथमिकता परेका योजनाहरुको अपनत्व विकास साझेदारहरुले लिनुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका सचिव घनश्याम उपाध्यायले उल्लेख गरे ।
छलफलमा भाग लिदै किसान २ परियोजनाका कलष्टर म्यानेजर नवराज आचार्यले कर्णाली प्रदेशमा विकास साझेदारहरुले आफनो लगानी गर्दा दोहोरोपन नहुने तथा प्रदेश सरकारले तयार गरेको मोडेलमा आगामी योजना निर्माण तथा कार्यान्वयनमा एकरुपता हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।