२०८३ वैशाख ३ , बिहीबार

अब कसको सरकार बन्नुपर्छ जनताले नै फैसला गर्नेछन् : प्रधानमन्त्री



माघ २३, सुर्खेत

प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्वाचनमा गएको बताउँदै अब सबै कुराको निर्धारण निर्वाचनले गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेशले आयोजना गरेको बृहत् आमसभालाई संवोधन गदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले निर्वाचन गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै निर्वाचन गरेर देश सङ्कटमा नपर्ने उल्लेख गरे ।

उनले भने, ‘अब कसको सरकार बन्नुपर्छ,कसले विकास गर्दछ, सबैको फैसला जनताले गर्नेछन्, देश चुनावतर्फ गयो गयो, अब चुनावले नै फैसला गर्नपर्छ ।’ उनले भने, ‘अब कसको सरकार बन्नु पर्छ चुनावले फैसला गर्छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरू निर्वाचन आयोगमा गएर निर्वाचनको तयारी रोक भनिरहेको बताउँदै, आयोग र अदालतलाई धम्काउनेहरू लोकतन्त्र विरोधी भएको बताए । देशका स्वतन्त्र निकायले विवेकपूर्ण ढङ्गले निर्णय लिने बताउँदै प्रधानमन्त्रीले भने, ‘कतिपय मान्छेहरू निर्वाचन गर्दा देश सङ्कटमा पर्छ भनेर कराइरहेका छन्,जनताले अभिमत प्रकट गर्दा, जनताले आफ्नो फैसला आफै गर्दा देश सङ्कटमा पर्दैन ।’ उनले थपे, देश सङ्कट त कुनामा बसेर षडयन्त्र गर्दा पर्छ ।’

प्रधानमन्त्री ओलीले जनताको चेतनास्तर माथि उठिसकेको बताउँदै अब कसैले पनि लोकतन्त्र खोस्न नसक्ने बताए । प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था हुँदा संसदीय प्रणालीमा प्रधानमन्त्रीले संसद् विघटन गर्नसक्नेभन्दै उनले ताजा जनादेश लिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।

‘हाम्रै बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने र व्यवधान खडा गर्ने र सरकारलाई बदनाम गराउन खोज्नेहरूलाई जवाफ दिन ताजा जनादेश नै उपयुक्त हो ।’ प्रधानमन्त्रीको भनाई थियो ।

आफूले लोकतन्त्रका लागि जीवनभर लडेको बताउँदै प्रधानमन्त्री ओलीले आफूले संघीय लोकतन्त्रीक गणतन्त्रलाई सुद्घिण पारिरहेको बताए । उनले भने,‘अब कसैले लोकतन्त्र मास्न सक्दैन, लोकतन्त्र सुद्घिण छ । जनता सचेत छन् ,कसैले लोकतन्त्रलाई केही गर्छु भनेर नसोचे हुन्छ ।’

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रबार