२०८३ वैशाख ३ , बिहीबार

सुर्खेत चेम्बरका उपाध्यक्ष थापाको निधन



सुर्खेत २४ माघ

सुर्खेत चेम्बर अफ कमर्सका उधोग उपाध्यक्ष खगेन्द्र थापाको वीरेन्द्रनगरको आफ्नै निवासमा देहावसान भएको छ। स्वास्थ्यकर्मी संघ सुर्खेतको संस्थापक अध्यक्ष समेत रहेका थापा लामोसमयदेखि विरामी परेका थिए।

मृगौलाका विरामी थापाले गतवर्ष मात्रै मृगौला प्रत्यारोपण गरेका थिए। यस विचमा कोरोना रोगको संक्रमण भएपनि उनी लामो उपचारपछि डिस्चार्ज भएका थिए।

सुर्खेतमा जनस्वास्थ्य निरीक्षक रहिसकेका थापाको खगेन्द्र थापाको शनिवार निधन भएको छ। २ महिनाअघि थापालाई कोरोना रोगको संक्रमण भएको थियो। घरमै आराम गरिरहेका थापालाई एक्कासी स्वास्थमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो।

‘उहाँलाई रगत वान्ता भएको थियो। वान्ता हुने क्रममा रगत श्वासनलीमा गएपछि हामीले आशा मारेका थियौ,’ नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेत शाखाका अध्यक्ष उदय थापाले भने, ‘रगत फोक्सोमा गएसँगै उहाँ कोमामा जानुभएको थियो।’

कोमामा गएसँगै थप उपचारले काम नगर्ने भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो। उनले स्वास्थ्यको समस्या कारण सरकारी सेवाबाट दुई हप्ता अघि मात्रै अवकास लिएको वीरेन्द्रनगर नगरपालिका सुर्खेतका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले वताए । थापा लामो समयदेखि वीरेन्द्रनगरको कट्कुवा स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए।

उनलाई करिब ७ वर्षदेखि मिर्गौलामा समस्या देखिएको थियो। उनी २०४२ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। मृतक थापाले वीरेन्द्रनगरमा देउती अस्पताल सञ्चालन गरेका छन् ।

 

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिबार