
सुर्खेत २७ माघ
एउटाको जग्गा अर्काको नाममा नामसारी गर्ने कार्यमा संलग्न मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र अर्काको जग्गा आफ्नो नाममा ल्याएका भनिएका सहवीर कार्कीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सुर्खेतको वहुचर्चित मध्येको एक यो मुद्दामा जिल्ला न्यायाधीश विमलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।
अदालतका श्रेष्तेदार यामप्रसाद बास्कोटाका अनुसार मालपोत कार्यालयका सुब्बा साउँद र खरदार दीपेन्द्र श्रेष्ठलाई जनही पाँच/पाँच लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं। १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई जनही दुई/दुई लाख र जग्गा किनबेचमा साक्षी बसेका चाँदनी वली र नारायण बुढाक्षेत्रीलाई दुई/दुई लाख धरौटीमा छोड्न आदेश भएको छ ।
सुर्खेत उधोग बाणिज्य संघका अध्यक्ष धनवहादुर रावतका छोरा सौगात रावतको वीरेन्द्रनगर १२ मा रहेको ३१११ कित्ता नम्वरको ६ कट्ठा जमिन गत असार ८ गते मालपोत कार्यालय सुर्खेत र जग्गा दलालहरुको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरिएको आरोप लगाईएको छ । त्यसको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको उल्लेख गरिएको छ ।
रावतको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालिन प्रमुख लक्ष्मी खत्री, नायव सुब्बा विश्वरुप साउँद, खरदार दीपेन्द्र श्रेष्ठ, सुब्बा कमला सापकोटा, कृष्ण थापा, तिर्थ महतारा, कम्प्युटर अपरेटर सुनिल राना, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, नापीका खरदार दीपेन्द्र पुलामी, जग्गा खरिदकर्ता सहवीर कार्की, जग्गा कारोवारी सन्तोष ठाकुर, सुनिल राना, गणेशबहादुर बुढा, निर्मल पुरी, लेखनदास अम्मरसिंह कटुवाल, साक्षी चाँदनी वली, नारायण बहादुर बुढाक्षेत्रीसहित १९ जनाविरुद्ध ठगी र किर्तेमा मुद्धा दर्ता गरेको थियो ।
जिल्ला सरकारी वकील कार्यालय सुर्खेतका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ अन्तर्गत लिखत सम्वन्धी कसुरको दफा २६७ को उपदफा १ विपरितको कार्य र उक्त संहिताको परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्वन्धी कसुरको दफा २४९ को उपदफा १ बमोजिमको सजाय मागदावी गरिएको छ ।
श्रेष्तेदार बास्कोटाले प्रहरीले अदालतमा उपस्थित गराएका आठ जना मध्ये दुईलाई पुर्पक्षका लागि थुनामा पठाउने र बाँकीलाई धरौटीमा छोड्ने आदेश भएको जानकारी दिए। उनले फरार अभियुक्तका हकमा पक्राउ पूर्जी जारी भइसकेकोले उनीहरु म्यादभित्र उपस्थित नभए थप प्रक्रिया अघि बढ्ने वताए ।