२०८३ वैशाख ३ , बिहीबार

सहकर्मीलाई जेल चलान गरिएपछि मालपोत कार्यालय सुर्खेतका कर्मचारी आतंकित

सरुवा भै जाने, नभए जागिरै छाडिदिने मुडमा कर्मचारीहरु


सुर्खेत २८ माघ

कुनै एक व्यक्तिको जग्गा अर्काको नाममा नामसारी गरेको अभियोगमा २ जनालाई जेल चलान गरेसंगै सुर्खेत मालपोत कार्यालयका कर्मचारीहरु आतंकित वनेका छन्।

मंगलबार मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र अर्काको जग्गा आफ्नो नाममा ल्याएका भनिएका सहवीर कार्कीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसंगै मालपोत कार्यालय सुर्खेतका कर्मचारीहरु सकभर अर्को जुनसुकै कार्यालयमा सरुवा मिलाई जाने मुडमा देखिएका छन्।

नाम उल्लेख नगर्ने शर्तमा मालपोत कार्यालय सुर्खेतका एक कर्मचारीले खवरदृष्टिसंग प्रतिकृया दिदै भने, ‘कुन दिन जेल जानू पर्ने हो भन्ने दिन गन्दै कसरी जागिर खानु !’ आफुले मालपोतवाट अन्य कार्यालयमा सरुवा गरिदिन सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिईसकेको उनले वताए ।

मन्त्रालयले सरुवा नगरे उपदानमा निस्कने उनको योजना छ। ‘वरु जागिर छोड्नु वेश, विना कारण जेल जानू भन्दा,’  उनले भने, ‘मालपोतमा काम गर्ने कर्मचारीहरु प्रती सर्वसाधारणहरुको वुझाई समेत सकारात्मक छैन।’

आज दिउँसो कार्यालय समयमा खवरदृष्टिको टिम जाँदा कोही कर्मचारी वोल्न तैयार भएनन्। एक कर्मचारीले अफिस समय सकिएपछि कल गर्नु भन्दै आफ्नो नम्बर टिपाए। पछि उनको नंवरमा कल गर्दा दिनभर सवै कर्मचारीहरु तनावमा रहेको र अन्य कार्यालयमा सरुवा भै जाने मनस्थितिमा रहेको उनको भनाइ थियो। आफुहरु वरु वेरोजगार भएर घरमै वस्न तैयार भएको तर मालपोतमा सेवा गर्न कुनैपनि हालतमा तैयार नभएको उनले वताए ।

मालपोतका कर्मचारीहरुका अनुसार व्यवसायीहरु मिल्दासम्म एकले अर्काको पुरै विश्वास गर्छन् । जब कारोवारो विग्रन्छ, अनि मुद्दा मामिलामा लाग्छन। अहिलेको केश समेत व्यवसायी विच कारोवारो नमिल्दा भएको घटनाका रुपमा उनले अर्थ्याए। ‘उनीहरू विचको लफडाले हामी जेल जानू पर्ने ?’ उनी आक्रोशित हुँदै भन्छन।

‘कुनै कर्मचारीले कसैको काम लेट आवरमा गरिदिए बापत १/२ हजारको खाजा खायो होला, घुसै भनेर खाएको छैन,’ उनी भन्छन्, ‘भोली कुनै व्यक्तिले यो सहि मैले गरेकै होईन भनेर आउला, त्यसको ग्यारेन्टी कसरी गर्ने रु कि त फलानो व्यक्तिले नै सहि गरेको हो भन्ने संयन्त्र वनाईदिनु पर्यो !’

मालपोत कार्यालय सुर्खेतमा भएको घटनामा मंगलबार सुर्खेत जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले कार्यालयका कम्प्युटर अपरेटर सुनिल राना र सहवीर कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो। साथै अदालतले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित ६ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो ।

सुर्खेत उधोग बाणिज्य संघका अध्यक्ष धनवहादुर रावतका छोरा सौगात रावतको वीरेन्द्रनगर १२ मा रहेको ३१११ कित्ता नम्वरको ६ कट्ठा जमिन गत असार ८ गते मालपोत कार्यालय सुर्खेत र जग्गा दलालहरुको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरिएको आरोप लगाईएको छ । त्यसको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको समेत अभियोग कर्मचारीहरुलाई लगाईएको छ।

रावतकै जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालिन प्रमुख लक्ष्मी खत्री, नायव सुब्बा विश्वरुप साउँद, खरदार दीपेन्द्र श्रेष्ठ, सुब्बा कमला सापकोटा, कृष्ण थापा, तिर्थ महतारा, कम्प्युटर अपरेटर सुनिल राना, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, नापीका खरदार दीपेन्द्र पुलामी, जग्गा खरिदकर्ता सहवीर कार्की, जग्गा कारोवारी सन्तोष ठाकुर, सुनिल राना, गणेशबहादुर बुढा, निर्मल पुरी, लेखनदास अम्मरसिंह कटुवाल, साक्षी चाँदनी वली, नारायण बहादुर बुढाक्षेत्रीसहित १९ जनाविरुद्ध ठगी र किर्तेमा मुद्धा दर्ता गरेको छ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधबार