२०८३ वैशाख २६ , शनिबार

सुर्खेत उपत्यका खानेपानी संस्थामा ट्रेड युनियनले तालाबन्दी गर्ने



फागुन १८, सुर्खेत

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा कार्यरत कर्मचारीहरुले गत मंसिर महिनादेखि मासिक तलब खान नपाएको भन्दै फाल्गुन १९ गतेदेखि फाल्गुन २२ सम्म संस्थाको कार्यालयमा तालाबन्दी गरि खानेपानी संचालन बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने घोषणा गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै संस्थाको ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालले उनीहरूले सुरुका दिनहरुमा संस्थाको कुनै कारणले तलब पाउन ढिलो भएको ठानी कर्मचारीहरुले कामकाज गर्दै आईरहेको वताए। विज्ञप्तिमा चार महिनासम्म मासिक तलब सुबिधा नपाएपछि संस्थाका कार्यालय प्रमुखसँग मौखिक अनुरोध गर्दा नआतिनुहोस भैहाल्छ भन्ने मौखिक जवाफ पाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारीको तलब समेत निकासा दिनेगरी निर्णय गरेको सुनेपछि तलब सुविधा पाईन्छ भन्ने आशमा बसेकोमा संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले चेकमा दस्तखत नगरेका कारण तलब खान नपाएको कुरा बुझिन आएको र संस्थामा कार्यरत कर्मचारीहरुको ट्रेड यूनियनको बैठकले गत फाल्गुन ०७ गते कार्यालय प्रमुख डम्मरबहादुर गौतमलाई तलब उपलब्ध गराउन लिखित अनुरोध गरेको उल्लेख छ ।

यसैगरी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी समक्ष आफुहरुलाई तलब खुवाउने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेको र फाल्गुन १६ गते संस्थाका अध्यक्ष र कार्यालय प्रमुखलाई तीन दिन भित्र तलब उपलब्ध गराइदिन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाका कर्मचारीहरु भोको पेट कामगर्न नसक्ने भएकाले फाल्गुन १९ देखि फाल्गुन २२ सम्म संस्थामा तालाबन्दी गरि खानेपानी संचालन बाहेकका सम्पुर्ण सेवाहरु बन्दगर्ने र फाल्गुन २३ गते सम्मपनि कर्मचारीहरुले तलब खान नपाएमा खानेपानी सेवा समेत बन्द गरि घर बस्न बाध्य चेतावनी दिईएको छ ।

प्रकाशित मिति : २०७७ फागुन १८ गते मंगलबार