
सुर्खेत २४ फागुन
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादीवीच भएको पार्टी एकतालाई अवैध ठहराएपछि देशभरको राजनीति तरङ्गित वनेको छ। फैसलाले प्रदेश सरकारहरुमा फेरवदल आउने आँकलन गर्न थालिएको । नेकपाले सरकार चलाईरहेका ६ प्रदेशमध्ये नेकपा माओवादीले नेतृत्व गरेका वाँकी २ (कर्णाली र सुदुरपश्चिम) प्रदेशमा समेत नेकपा एमालेले नेतृत्व गर्ने अवस्थाको सिर्जना भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य यमलाल कंडेललाई निर्वाचन अघि मुख्यमन्त्रीमा प्रस्तावित गर्दै निर्वाचन लड्न पठाएका थिए। २०४९ सालपछि निरन्तर जनप्रतिनिधि वनेका कँडेललाई संघ र प्रदेश जुनसुकै सिटमा निर्वाचन लड्न चाहदा पार्टीमा रोक्ने अवस्था हालसम्म वनेको छैन।
कँडेल कुन सिटमा लड्ने फिक्स भएपछि मात्रै अरुको वारेमा छलफल हुने सुर्खेतमा केपी ओलीको निर्देशन र कँडेलको आफ्नै चाहनाले प्रदेश सभाको सदस्य वने। २०७४ को निर्वाचनमा केपी ओलीले उनलाई यतिसम्म आस्वस्थ पारेका थिए कि महेन्द्रवहादुर शाही मुख्यमन्त्रीमा चयन हुनु केही घण्टा अघिसम्म कँडेल आफु मुख्यमन्त्री वन्नेमा दृढ थिए।
कर्णाली प्रदेशमा एमाले पूर्ण वहुमतमा रहेको र केपी ओली टिमको सिनियर नेता समेत भएकाले उनी मुख्यमन्त्री वन्ने आँकलन सर्वत्र गरिएको थियोे। तर, अन्तमा ओलीलाई नै अप्ठ्यारोमा पार्नेगरि केन्द्रमा प्रचण्डले तिव्र गतिविधि गरेपछि ओलीकै अनुरोधमा कँडेल पछाडि हटेका थिए।
प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न दिएको १ घण्टा समय वाँकी रहँदा नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रवहादुर शाहीले कँडेललाई मुख्यमन्त्री पदमा आधा आधा कार्यकाल वाँढ्ने गरि लिखित प्रस्ताव बोकेरै नेकपा एमालेको सुर्खेत जिल्ला पार्टी कार्यालय पुगेका थिए। शाहीको लिखित प्रस्तावलाई हल्कारुपमा लिदै कँडेलले लिखित रुपमा संझौता गर्दा नराम्रो नजीर वस्ने भएकोले अढाई बर्षमा मुख्यमन्त्री छोडिदिन मौखिक रुपमा शाहीलाई सहमत गराएका थिए।
तर, सरकार वनेपछि शाहीले कँडेललाई टेर्नै छोडिदिए। एमाले भित्रको गुटबन्दीमा खेल्दै शाहीले माधव पक्षीय सांसदहरूलाई आफ्नो प्रभावमा राखिरहे। एमालेवाट निर्वाचित आर्थिक मामिला मन्त्री प्रकाश ज्वालासंगको भित्री साँठगाँठमा वजेट विनियोजन र अन्य कामहरु हुँदै गए।
सर्वोच्च अदालतको निर्णयसँगै पुनः एकपटक कर्णाली प्रदेशको राजनीतिमा कँडेल निर्णायक ‘पोजिसन’ मा आईपुगेका छन् । संसदीय दलभित्र उनी पूर्ण वहुमतमा रहेको र नेकपा एमालेमा प्रधानमन्त्री ओली झनै शक्तिशाली वनेपछि कँडेललाई मुख्यमन्त्रीमा रोक्न नसक्ने कँडेलपक्षीय एक प्रदेश सांसद वताउँछन।
कँडेलको मुख्यमन्त्री वन्ने योजनामा आफ्नो प्रधानमन्त्री पदनै दाउँमा लगाईदिएका ओलीले अहिले पार्टीभित्र सहज अवस्था भएको समयमा आफु अनुकूल निर्णय नगराउलान भन्ने आधार नहुँने उनी दाबी गर्छन। पार्टी एक हुँदापनि कँडेल संसदीय दलमा वहुमतमै रहेको र कर्णालीमा उनको प्रभाव रोक्न माधवरप्रचण्डले हदैसम्मको तल्लो तहमा उत्रिएको उनी वताउँछन्।
अदालतको फैसलापछि नेकपा एमालेको तर्फबाट संसदीय दलको नेतामा कँडेल पुनस्स्थापित भएका छन् । उनले अब तत्काल प्रदेश संसदीय दलको बैठक बोलाउने र निर्णय गराई ह्वीप जारी गर्नेसम्मका कामहरु गर्नेछन्।
‘केन्द्रमा अध्यक्ष केपी ओलीले र प्रदेशमा यमलाल कँडेलले ह्वीप लगाउनु हुन्छ। पार्टी अब पहिलेजस्तो अराजक हिसाबले चल्दैन, पार्टी अनुशासनमा नवस्नेहरुको सांसद पदसमेत जान सक्छ,’ कँडेल निकट प्रदेश सभा सदस्य दानशिं परियारले भने।समानुपातिकतर्फका सांसदहरुले झन पार्टी निर्णयबिरुद्धमा जानै नहुने र गए तत्काल पद जोखिममा पर्ने उनको भनाइ थियो ।
सर्वोच्चको पछिल्लो आदेशसंगै प्रधानमन्त्री ओली पार्टी र सरकारमा समेत वलियो पकड वनाएका छन् । यसले गर्दा यसअघि माधव पक्षमा गनिएका सांसदहरू ओली टिमविरुद्दमा लाग्ने अवस्थामा छैनन् । ओलीसंग पार्टी र सरकारमा भाग माग्नेअवस्थासम्म माधवकुमार नेपाल नभएकोले सो समूह रक्षात्मक अवस्थामा पुगेको छ।
केही महिना पहिले ओली समूहवाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा र सामाजिक विकास मन्त्री दल रावलले टिम परिवर्तन गरेको भित्री कथा अर्कै रहेको सदस्य परियारले संकेत गरे। उनले भने, ‘उहाँहरुले टिम छोडेको होईन, केही समय सरकारमै वस्ने सल्लाह वमोजिम नै हो।’
त्यसो त पछिल्लो समय माधव नेपाल समूहमा रहेका प्रदेश सभा सदस्य पदमवहादुर रोकायासमेत हिजो (आईतवार) देखि ओली समूहमै देखिएका छन। नेकपा एमाले व्यूतिएपछि उनी जाजरकोट सदरमुकाममा स्थानीय एमाले कार्यकर्ताहरुसंगै खुसीयाली साट्न पुगेका थिए। उनले एमालेको पक्षमा भाषण समेत गरेको प्रदेश सभा सदस्य कौशिला खत्रीले जानकारी दिईन्। रोकाया कार्यक्रममा सहभागी भएपनि जाजरकोटमै रहेका अर्का प्रदेश सभा सदस्य करविर शाही सहभागी भएनन्।
हालसम्म माधव नेपाल टिममा ११ जना सांसदहरु प्रकाश ज्वाला, सुशीलकुमार थापा, पद्मा खड्का, देवी ओली, चन्द्रबहादुर शाही, कुर्मराज शाही, करविर शाही, अमरबहादुर थापा, दल रावल, नन्दसिंह बुढा र पदमबहादुर रोकाया देखिएको र कँडेलको पक्षमा नौ सांसदहरू यामलाल कँडेल, राजबहादुर शाही (सभामुख), गुलावजंग शाह, बद्मीक्वारी बोहरा, राजु नेपाली, मीनासिंह रखाल, खड्कबहादुर खत्री, दानसिंह परियार र कौशिलावती खत्री रहेको देखिएको छ ।
माधव टिम भन्ने पार्टीमा अब नभएकोले एमालेका सम्पूर्ण सदस्यहरु एकढिक्का भै कँडेलको नेतृत्वमा नयाँ सरकार गठन गरिने प्रदेश सभा सदस्य दानशिं परियार ठोकुवा गर्छन् ।