२०८३ वैशाख ३ , बिहीबार

वडा ९ मा मेलमिलाप केन्द्र स्थापना



सुर्खेत ६, चैत्र

वीरेन्द्रनगर नगरपालिकाको वडा नं ९ मा वडा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स-साना झै-झगडा एवं मनमुटावहरुलाई वडा स्तरबाटै समाधान गर्न वडा मेलमिलाप केन्द्रको स्थापना गरिएको वताईएको छ ।

मेलमिलाप केन्द्रको शुभारम्भ गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मोहनमाया ढकालले न्यायिक समिति अन्तरगत स्थापित मेलमिलाप केन्द्रले समुदायमा हुने गरेका ११ प्रकारका मुद्दाहरुलाई समाधान गर्ने बताईन ।

उनले मेलमिलाप केन्द्रका लागि कार्यविधी बन्दै गरेको जानकारी दिदै सम्पूर्ण टोलविकास संस्थाका प्रतिनिधीहरुलाई तालिम दिने नगरपालिकाको योजना रहेको खुलासा गरिन । न्यायको पहुँच सवैमा पुगोस भन्ने हेतुले केन्द्रको स्थापना गरिएको उनले वताईन्।

उक्त कार्यक्रममा वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरले समाजमा झगडा हुने वातावरणलाई न्यूनिकरण गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आफ्नो ठाउँको समस्या आफै समाधान गर्नेतर्फ लाग्न अनुरोध गर्दै यसमा वडाको पूर्ण सहयोग रहने प्रतिवद्दता जनाए।

मेलमिलापकर्ता शुसिला गिरीले स्वागत गरेको उक्त कार्यक्रमलाई केन्द्रका सदस्य विमला विसीले संचालन गरेकी थिईन। कार्यक्रममा वडा नं ७ का मेलमिलाप संयोजक शिवप्रसाद गौतम, वडासदस्यद्वय पुरनबहादुर शाही तथा जीवनकुमार शर्मा, नगरपालिकाका प्रशासकिय अधिकृत टिकाराम ढकाल तथा मनो-विमर्शकर्ता मिलन श्रेष्ठले आ-आफ्नो भनाइ राखेका थिए।

प्रकाशित मिति : २०७७ चैत ६ गते शुक्रबार