
चैत १७, सुर्खेत
प्रष्ट अल्पमत परिसक्दा पनि नेकपा एमाले भित्र चलखेल गरेर सत्ता टिकाउने उपायहरू खोज्दै गरेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही माथि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले दवाव वढाउदै लगेका छन् ।
प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीलाई छिटो विश्वासको मत लिने या राजीनामा दिएर मार्ग प्रशस्त गर्ने अर्थ लाग्ने गरि मंगलबार एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा शाहीलाई नेकपा एमालेको संसदीय दलले दिएको समर्थन फिर्ता भैसकेको वारे ध्यानाकर्षण गराईएको छ ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेर एमालेले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्री शाही अल्पमतमा परेको जनाउ दिएको हो । कर्णालीमा एमालेको झण्डै एकल वहुमत हुँदापनि माओवादी नेतृत्वको सरकार कायम छ ।
प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलको हस्ताक्षरमा जारी विज्ञप्तिमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण–पत्र प्रेषित गरिएको उल्लेख छ ।
एमालेको संस्थापन पक्षले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर पत्रसमेत बुझाइसकेको अवस्थामा शुरूमा माधव नेपाल पक्षधर सांसदहरू सहमत नदेखिए पनि पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमले एमालेका सवै सांसदहरू एकै ठाउँमा उभिएका छन् ।
अन्यौलमा प्रदेशसभा बैठक
सत्ता संकटले गर्दा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान भएको छैन । संविधान वमोजिम सरकारले वैठक वस्ने मिति सिफारिस गरेपछि मात्र प्रदेश प्रमुखबाट वैठक आव्हान हुने व्यवस्था छ । सरकारले नै वैठकको मिति तय नगरेपछि सदन बस्नेबारे अन्योल भएको हो ।
प्रदेशसभा नियमावली अनुसार अधिवेशन अन्त्य भएको ६ महिनाभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ । कर्णाली प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य भएको आगामी वैशाख ८ गते ६ महिना पुरा हुनेछ ।