सुर्खेत १, जेठ
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कोरोना संक्रमितहरुले अक्सिजन नपाएर मृत्युवरण गरिरहेको समाचार आईरहेको भन्दै यसको रोकथाम, नियन्त्रण र उपचार तथा प्राविधिक जनशक्ति व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराएको छ।
प्रदेश अध्यक्ष गोरखवहादुर वोगटीले आज एक विज्ञप्ति जारी गर्दै महामारीवाट सिंगो देश आक्रान्त वन्दै गईरहेको र हजारौं नागरिकहरुले अनाहकमा ज्यान गुमाईरहेको उल्लेख छ।
प्रदेश अस्पताल सुर्खेतले अक्सिजन अभाव देखाउदै कोभिड १९ का नयाँ विरामी भर्ना गर्न नसक्ने सूचना टाँस गरेको प्रती विरोध जनाईएको छ। यसवाट प्रदेश सरकार कर्णालीका नागरिकहरुको जीवन रक्षा प्रती कति गैरजिम्मेवार छ भन्ने कुराको जीवन्त उदाहरण भएको उल्लेख गरिएको छ।

आफ्नो प्रदेशका नागरिकहरुले सामान्य उपचार पाउन नसकी अकालमा ज्यान गुमाईरहेको वेला विना औचित्य र आवश्यक मनपरि ढंगले मन्त्रालय फुटाएर नयाँ मन्त्रालय निर्माण गरि केही व्यक्ति विशेषको स्वार्थसिद्धि गर्ने काममा प्रदेश सरकार लागेको आरोप लगाईएको छ।
हिजो कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले अक्सिजन आपूर्तिमा आएको समस्याका कारण कोरोनाका नयाँ विरामी भर्ना लिन अस्पताल असक्षम भएको सूचना जारी गरेपछि यो विषयले निकै गम्भीर रुप लिएको छ।
एमाले अध्यक्ष वोगटीले जारी गरेको बक्तव्यमा आफु सुरक्षित हुदै स्थानीय नागरिकहरुको जीवनरक्षा गर्न स्थानीय तह र पार्टी कार्यकर्ताहरू लगायत सवैलाई अपिल गरिएको छ।
विज्ञप्तिमा कर्णाली प्रदेशको महामारी नियन्त्रण गर्नका लागि यथासिघ्र आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध समेत गरिएको छ।