
सुर्खेत २, जेठ
कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेश सरकारलाई दैनिक एक हजार सिलिण्डर अक्सिजन भर्ने प्लान्टको स्थापना गर्न निर्देशन दिएको छ।
उक्त समितिका सदस्य पदमा खड्काले अक्सिजन अभावका विषयमा समिति गम्भीर भएको वताउदै कोरोना संक्रमितहरुको पूर्ण दायित्व प्रदेश सरकारले लिनु पर्ने वताईन।
आज अपरान्ह संसद सचिवालयमा वसेको वैठकले कोभिड–१९ सँग सम्बन्धित बिरामी र बिरामीका आफन्तहरुमा अत्यधिक डर त्रासको अवस्था सिर्जना भै मानसिक समस्या समेत देखिन थालेकोले यसको न्यूनीकरण गर्न मनोविमर्श सेवा सुरु गर्नुपर्ने र निःशुल्क हटलाइन सेवाको तत्काल सुरुवात गर्नुपर्ने निर्णय गरेको सदस्य खड्काले जानकारी दिईन।
बैठकमा प्रदेश अस्पताल, सुर्खेतको मिति २०७८ बैशाख ३१ गते प्रकाशित कोभिड–१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने भन्ने व्यहोराको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको र प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा गम्भीरताका साथ लाग्नुपर्ने निर्णय समेत गरेको छ।
खवरदृष्टिको प्रश्नमा खड्काले भनिन्, ‘प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने, कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीको लागि संघ, मित्र राष्ट्र तथा अन्य मुलुकलगायत गैर सरकारी संघसंस्था, निजी क्षेत्रसँग प्रदेश सरकारले समन्वय गरी अगाडि बढ्नुपर्ने निर्देशन दिएका छौं ।’
वैठकले प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीब्रता दिने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारले कोभिड(१९ को रोकथाम, नियन्त्रण र संक्रमणबाट बच्नको लागि आम जनसमुदायमा दिएका निर्देशनहरुको पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन समेत आग्रह गरिएको छ । वैठक समितिका सभापति देवी ओलीको अध्यक्षतामा भएको थियो।