
सुर्खेत २१ साउन
सरकारले भूमि सम्वन्धी आयोग विघटन गरेको विरोधमा सुर्खेतका भूमिहीनहरु आन्दोलित भएका छन् । आयोगले लालपुर्जा वाड्ने अन्तिम तैयारी गरिरहेको समयमा आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध आन्दोलनको आधिवेहरी सिर्जना गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगर वडा नं २ कोलडाँडामा बस्दै आएका सुकुमबासीले आफुहरुले लालपुर्जा पाउने अन्तिम तयारी भइरहेको समयमा सरकारले भूमिसम्बन्धी आयोग विघटन गरेर गरिबमारा नीति लिएको वताए। उनीहरूले आयोग विघटन गर्नु गलत भएको बताउँदै आयोग पूनर्स्थापना गर्न दबाब दिने उद्देश्यले संघर्ष समिति बनाएका हुन्।
स्थानीय मोहन सुनारको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ। उक्त समितिले शुक्रबार वीरेन्द्रनगरको वडा कार्यालयमा भूमि आयोगले सिफारिस गरे अनुसारको लालपुर्जा पाऊँ भन्दै ज्ञापनपत्र पेस गर्ने भएको छ।
सुकुम्बासीका पक्षमा काम गरिरहेको अवस्थामा आयोग नै खारेज गरेर सरकारले आफ्नो असलियत उदाङ्गो पारेको संयोजक सुनारले आरोप लगाए। उनले आयोगले आफुहरुका समस्या समाधानका गर्न अन्तिम तयारी गरिरहेको र केही महिनाभित्रै आफुहरुका हातमा पुर्जा पाउने निश्चित भएको वताए। संयोजक सुनारले भने, ‘ ‘सरकारले आयोगले गरेका अहिलेसम्मका सवै कामलाई कामै नलाग्ने गरी खारेज गरेका कारण हाम्रो आशा र विश्वासमा तुषारापात भएको छ।’
सुकुम्बासी र भूमिहीनहरुका माग पूरा गराउन आफूहरू आन्दोलनमा जान बाध्य भएको उनले बताए। उनले वडा स्तरबाट सुरु गरिएको आन्दोलनलाई विस्तारै जिल्लाव्यापी वनाउने योजना बनाएको खुलासा गरे।
भूमिहीन र सुकुम्बासीहरुको पक्षमा विगतदेखि नै यससम्बन्धी अभियान चलाउदै आएका वलवहादुर थापाले सुकुम्बासीरभूमिहीनहरुको पार्टी नहुने भन्दै आम भूमिहीनहरु सरकारको निर्णय खारेजीको माग गर्दै आन्दोलनमा उत्रिनुको विकल्प नभएको वताए। आफुले सुर्खेतका सम्पूर्ण भूमिहीनहरुलाई आन्दोलित गराउन सहजीकरण गरिरहेको र जिल्लाव्यापी कडा आन्दोलन गरिने उनले चेतावनी दिए।
आयोग विघटन गरिएपछि विहीवार वीरेन्द्रनगरका विभिन्न वडाका सुकुम्बासी वस्तीहरुमा सरकारविरुद्ध गरिने आन्दोलनको मोडेलवारे छलफलहरु भएका छन्। वीरेन्द्रनगरको १,२,३,४,५,७,८ लगायतका वडाहरुमा भएका छलफलमा विगत लामो समयदेखि नेपाली कांग्रेस र माओवादीमा आस्था राख्ने सुकुम्बासीहरुले आफ्नो वर्गको प्रतिकुल निर्णय गर्ने पार्टी परित्याग गर्नेसम्मका योजना रहेको सुनाए।उनीहरूले कुनैपनि पार्टी र नेताहरुलाई नचिन्ने तर आफुहरुको पक्षमा काम गरेकोले केपी ओलीलाई भन्ने चिन्ने वताए।