
सुर्खेत । वीरेन्द्रनगर नगर कमिटीको दोस्रो अधिवेशन सुरु भएको छ । निलकण्ठ खनाल अध्यक्ष रहेको कमिटीको समयावधि पूरा भएकोले नयाँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ । नगर कमिटी अध्यक्ष पदका लागि संस्थापन टिमबाट आकाङ्क्षीहरूको लर्को छ।
उक्त टिमबाट नगर अध्यक्षमा गङ्गाराम तिमिल्सेना, सूर्य रावत, चक्र रावत, नवराज गुरुङलगायतका नेताहरूले इच्छा गरेका छन्। इतर टिमले प्रतिनिधि चयनमा दबदबा कायम गरेकाले उत्साहित छ। वीरेन्द्रनगरका अधिकांश वडाबाट राम्रो सङ्ख्यामा प्रतिनिधि ल्याउन सफल इतर टिमले अध्यक्ष पदका लागि नन्दलाल शर्मालाई तिखार्ने देखिएको छ।
उक्त टिमबाट विद्यार्थी नेता धुपेन्द्र शाहीले पनि इच्छा जाहेर गरेका छन्। अध्यक्ष सम्भव नभए सचिव पदमा शाहीलाई लडाउने इतर समूहको तयारी छ। अर्को पक्षको तयारीबाट झस्केको संस्थापन समूहले सर्वसम्मत हुनेभए इतर पक्षलाई केही पदाधिकारी दिएर भएपनि मिलाउने प्रयास गर्नेछ।
एमाले सचिवालय सदस्य पूर्ण पौडेललाई अध्यक्षमा अघि सारेर भएपनि सर्वसम्मत गर्ने संस्थापनको तयारी छ। सकभर पछि मेयर दाबी गर्न नसक्ने इमानदार र ‘एसमेन’ छवि भएको सदस्यलाई कमिटी अध्यक्ष बनाउने दुवै टिमको तयारी छ। २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा लगभग एउटै टिमबाट चुनाव लडेको वीरेन्द्रनगर एमाले अहिले दुई फ्याक बनेको छ। मेयर उपमेयर लगायतको एउटा टिम छ भने अर्को टिमको नेतृत्व वडा नं ९ का अध्यक्ष ऋषि गिरीले गरेका छन्।
श्रोतका अनुसार उनको टिम अहिले वीरेन्द्रनगर पालिकाको कार्यपालिका एमालेतर्फ बहुमतमा रहेको छ। वीरेन्द्रनगर वडा नं २, ३, ५, ८, १२, १४, १६ का अध्यक्षहरू अध्यक्ष ऋषिको समूहमा लागेका छन्। कार्यपालिकामा प्रत्यक्ष निर्वाचित वडा अध्यक्षसहित १२ सदस्य अहिले उक्त समूहमा लागेको श्रोतले बतायो।
कँडेललाई नेता मान्ने तर नगर प्रमुख र उप प्रमुखको व्यवहारले आफू अर्को कित्तामा उभिन बाध्य भएको एक सदस्यले बताए। आफू संस्थापन समूहकै सदस्य भएपनि स्थानीय पालिका कमिटीको निर्वाचनमा संस्थापन तिर उभिन नसक्ने एक वडा अध्यक्षले जानकारी दिए।
केही समय पहिले भएको नगर बोर्ड बैठकमा उप प्रमुख निलकण्ठ खनालसँग चर्काचर्की र हात हालाहालको अवस्था सिर्जना भएपछि वडा नं १२ का अध्यक्ष चूडामणि चपाइले पनि टिम छाडेका छन्। उनी अहिले इतर समूहको बैठकमा सहभागी हुने गरेका छन्।
यसैबिच वीरेन्द्रनगर नगर कमिटीको दोस्रो अधिवेशनको बुधवार उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कार्यकर्ताहरूलाई गुटबन्दीबाट टाढा रहन आग्रह गरेका थिए। उनले सकभर सर्वसम्मतिले नयाँ कमिटी चयन गर्न सुझाव दिएका थिए।
कँडेलले एमाले पार्टीका हरेक कमिटी अधिवेशनमा सक्रिय हुने तर अन्य समयमा मौन बस्ने प्रवृत्ति त्याग्न सुझाव दिए। कँडेलले अधिवेशनमा जिम्मेवारी लिन होडबाजी गर्ने र त्यसपछि मस्तराम हुने प्रवृत्तिलाई छाड्न कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए।
अधिवेशनमा एमाले केन्द्रीय सदस्य नवराज रावत, ठम्मर विष्ट, मोहनमाया ढकाल, एमाले नेता बालाराम शर्मा, सुर्खेत जिल्ला कमिटीका अध्यक्ष कुलमणि देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनले नयाँ कमिटी चयन गर्नेछ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।
