२०८३ वैशाख २८ , सोमबार

सुर्खेतमा भोलिदेखि पोलियो विरुद्धको खोप अभियान सञ्चालन

करिब २३ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य


फाइल तस्बिर

सुर्खेत । सुर्खेतमा पनि पोलियो रोग विरुद्धको आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । भोलि अर्थात जेठ १३ गतेबाट २६ गतेसम्म जिल्ला भरमा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यस सम्बन्धमा छलफलका लागि शनिवार जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, जिल्ला सहायक अधिकारी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल, जनस्वास्थ्य कार्यालयका प्रमुख, पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँग छलफल भएको थियो ।

उक्त छलफलले खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । यो खोप २०७३ को वैशाख देखि २०७५ को असोजसम्म जन्मिएका बालबालिकालाई लगाइने छ । जिल्ला दुई चरणमा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी गणेशभक्त गौतमले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा जेठ १३ गते देखि १८ गतेसम्म सुर्खेतको भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ ।

त्यस्तै अन्य ६ पालिकामा जेठ २२ देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन हुने उनले बताए । जिल्लाभरमा करिब २३ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको सूचना अधिकारी गौतमको भनाइ छ । यो खोप स्वास्थ्य संस्था र विद्यालयमा सञ्चालन हुने छ । विद्यालय बाहिर रहेका बालबालिकाका लागि नजिकको पायक पर्ने स्वास्थ्य केन्द्रहरूमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

अधिकारी गौतमले खोप लगाउन कुनै पनि बालबालिका छुट्न नहुने भएकाले त्यसका लागि निजी तथा सरकारी विद्यालयसँगै जनप्रतिनिधि र पत्रकारको भूमिका महत्वपुर्ण रहने बताए । खोपका लागि जिल्ला भरमा ३ सय ३१ वटा खोप केन्द्रहरू रहेका छन् भने ३ सय ५१ जना खोप कार्यकर्ता र ७ सय २ स्वयंसेविका परिचालन गरिने युनिसेफका प्रतिनिधि सिताराम रिमालले बताए ।

उनले २०७१ सालदेखि नेपालमा पोलियो रोग विरुद्ध खोप दिन थालिएको बताए । रिमालकाअनुसार देशभर १४ लाख ६२ हजार बालबालिकालाई यो अभियान अन्तरगत खोप लगाईदैछ । खोप कमजोर भएका मुलुकहरु बढी जोखिममा हुने भएकाले नेपालमा निरन्तर खोप लगाइरहेको उनको भनाइ छ । विश्वबाटै पोलियो उन्मुलन नहुन्जेलसम्म नेपालमा पनि खोप निरन्तर भइरहने उनले बताए ।

यो रोग जोकोहीमा संक्रमण हुनसक्ने भएपनि पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । संक्रमण व्यक्तिलाई पक्षघात हुने र ५ देखि १० प्रतिशत सम्म मृत्यु समेत हुने गरेका छन् । खोप लगाउँदा सामान्य किसिमका लक्षणहरु देखिन सक्ने भन्दै त्यसबाट हतोत्साहित नहुन जनस्वास्थ्य सेवा कार्यालयले नागरिकलाई अपिल गरेको छ । कार्यालयका अनुसार खोप लगाएको ठाउँमा रातो देखिने, ज्वरो आउने जस्ता सामान्य लक्षण देखिने गर्छन् ।

नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रूपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एसियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकोले खोप अभियान सञ्चालन गर्न लागेको हो । नेपालमा पोलियाका बिरामी पछिल्लो पटक २०६७ मा असोज १४ गते देखिए यता नेपालमा पोलियाका बिरामी भेटिएका छैनन् । ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ । यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउनु पर्छ ।

प्रकाशित मिति : २०८१ जेठ १२ गते शनिबार