सुर्खेत । वर्षासँगै आएको पहिरोले अवरुद्ध भएका कर्णाली राजमार्गको विभिन्न खण्डहरू अझै खुलेका छैनन् । कालीकोटको एस मोड र राकाममा गएराति पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
यसअघि शुभकालीका गाउँपालिका–१ गगनेखोला, खाँडाचक्र नगरपालिका–२ हुल्म, शेरीघाट र खाँडाचक्र–४ छेकामा पहिरो जाँदा गएको शुक्रवारदेखि नै राजमार्ग अवरुद्ध भएको छ । पानी पर्ने क्रम नरोकिएकाले अवरुद्ध सडक खुलाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
वर्षाका कारण कालीकोटमा बिजुलीको पोलसमेत ढलेको र यस मोडका धेरै घर बिजुलीविहीन भएका छन् । अहिले पानी पर्ने क्रम कम भएपछि राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउन समस्या हुँदा सुर्खेत, नेपालगञ्जदेखि कालीकोट, जुम्ला र मुगु आवतजावत गर्ने गाडी र यात्रु अलपत्र परेका छन् ।